कम्युनिस्ट सरकारलाई दुई घण्टाभित्रै लाग्यो झट्का, निर्णय नै फिर्ता

काठमाडौं । सार्वजनिक यातायातको भाडा वृद्धिको चौतर्फी विरोध भएपछि कम्युनिस्ट सरकारले भाडा बढाउने निर्णय फिर्ता लिएको छ ।

यातायात व्यवस्था विभागले बिहीबार राति विज्ञप्ति जारी गरेर गाडी भाडा बढाउने निर्णय फिर्ता लिएको जनाएको छ ।

नयाँ भाडादर समेत सार्वजनिक गरेको विभागले तत्काललाई यो निर्णय फिर्ता लिइएको जानकारी दिएको छ ।

थप निर्णय गरी ठोस निष्कर्षमा पुग्नुपर्ने भएकाले अर्को सूचना प्रकाशित नहुँदासम्म नयाँ भाडादरको निर्णय कार्यान्वयन नहुने विभागको विज्ञप्तिमा उल्लेख छ ।

युरोप भ्रमणमा रहेका कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको निर्देशनमा विभागले भाडा वृद्धिको निर्णय फिर्ता लिएको स्रोतले जनाएको छ ।

यसअघि विभागले विभागले छोटो दुरीमा १२ प्रतिशत र लामो दुरीमा २० प्रतिशतसम्म भाडा बढाएको थियो ।

भाडा बढ्ने वित्तिकै प्रमुख विपक्षी दल नेपाली कांग्रेससहित विभिन्न संघ संस्था र राजनीतिक दलहरूले विरोध शुरू गरेका थिए । विरोध आउन थालेपछि भाडा बढाउने निर्णय गरेको दुई घण्टाभित्रै सो निर्णयलाई कम्युनिस्ट सरकारले फिर्ता लिएको छ ।

पछिल्लो समय विवादमा पर्दै आएको कम्युनिस्ट सरकारले गठी विधेयकका विरुद्ध सडक आन्दोलनको दवा खेपीरहेका बेला भाडा बढाउने निर्णयबाट ब्याक भएको छ ।

Published : Thursday, 2019 June 13, 10:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया