भारतद्वारा नेपालमा ५० हजार घरको पुनर्निर्माण

काठमाडौं । नेपालका गोरखा र नुवाकोट जिल्लामा भारत सरकारको आर्थिक सहयोगमा ५० हजार घरहरूको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको छ ।

भारतीय राजदूतावासले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, युएनडिपी र युएनओपिएससँग सहकार्य गर्दै काठमाडौंमा विशेष कार्यक्रम गरिएको छ ।

कार्यक्रममा भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य सी. खम्पा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, गोरखाको पालुङटार नगरपालिकाका मेयर, नुवाकोटको विदुर नगरपालिकाका उपमेयरलगायतको उपस्थिति थियो ।

खम्पाले भारत सरकारले प्रतिबद्घता जनाए अनुरुप यी ५० हजार निजी घरहरूको पुनर्निर्माण कार्य गरेको बताइन् । उनले गोरखा र नुवाकोट जिल्लाका चार नगरपालिका र चौध गाउँपालिकाका भूकम्प प्रभावित लाभग्राहीलाई सामाजिक–प्राविधिक सहजीकरण तथा परामर्श सेवा उपलब्ध गराउन हेतु भारतरले युएनडिपी र युएनओपिएसलाई परियोजनामा संलग्न गराएको बताएकी छिन् ।

१०० मिलियन अमेरिकी डलर अनुदान र चौथो लाइन अफ क्रेडिट अन्तर्गतको ५० मिलियन अमेरिकी डलर सहित ५०,००० घरको पुनर्निर्माणका लागि आर्थिक र प्राविधिक सहयोग प्रदान गर्न आवास क्षेत्रमा भूकम्पपछिको सहायता प्याकेजको रुपमा भारत सरकारले १५० मिलियन अमेरिकी डलरको प्रतिबद्घता जनाएको थियो ।

निजी आवास पुनर्निर्माण परियोजनालाई प्रभावकारिढङ्गले सफलतापूर्वक सम्पन्न गर्न स्थानीय सरकार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निकायहरूले खेलेको निर्णायक भूमिकालाई कदर गर्न हेतु परियोजनासँग सम्बन्धित प्रमुख सरोकारवालालाई एकैसाथ ल्याउने कार्यशालाको उद्दश्य रहेको थियो ।

कार्यशालाले उत्कृष्ट अभ्यासहरूबारे जानकारी दिनुका साथै परियोजनाबाट सिकेका मुख्य सिकाइहरू सहभागीहरु समक्ष साटासाट गरेको थियो । साथै कार्यशालाले स्थानीय सरकारलाई मार्गदर्शन र भविष्यमा उपयोगी हुनसक्ने परियोजनाको प्रभावकारिताको बारेमा सामूहिक रूपमा छलफल गरेको थियो ।

२०७२ सालको भूकम्पबाट प्रभावित नेपालका कूल ११ जिल्लामा ७१ वटा शिक्षाको क्षेत्रसँग सम्बन्धित परियोजना, १३२ वटा स्वास्थ्य भवन तथा २८ वटा सांस्कृतिक सम्पदा स्थलको पुनस्र्थापना÷प्रबलीकरणका लागि भारत सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग मिलेर काम गरिरहेको छ ।

Published : Monday, 2021 November 15, 4:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया