केपी ओलीका नेताहरू मोटाएका हान्ने राँगो जस्ता : मोहन बस्नेत
ज्यामिरेमाने । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कांग्रेसमा तीन कुराले गर्दा पराजय भोग्नुपरेको बताएका छन् ।
सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं. २ को ज्यामिरेमानेमा शुक्रबार आयोजित कांग्रेसको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बस्नेतले कांग्रेसभित्रको आन्तरिक कारणले कांग्रेसका उम्मेदवारहरू पराजित हुने गरेको बताए ।
उनले भने, ‘कांग्रेसले कांग्रेसलाई भोट नहाल्ने । कांग्रेसले गरेका राम्रा काम जनतामा भन्न नसक्ने । कम्युनिस्टले गरेका फट्याइ पनि भन्न नसक्ने । यी तीन कुराले गर्दा कांग्रेस हार्ने गरेको हो ।’
नेता बस्नेतले कांग्रेसलाई हराएर कम्युनिस्टले जित्दा कांग्रेसलाई नै कुटेर दुःख दिएको बताए । कांग्रेस हुँ भनेर कांग्रेसलाई भोट नहाल्नेहरूले राम्रोसँग चेत्नुपर्ने उनले बताएका छन् ।
उनले कम्युनिस्टहरूबाट कहिल्यै पनि विकास नहुने बताएका छन् । ‘मैले चिनेको कम्युनिस्ट । संसारका कम्युनिस्ट सबै एउटै हुन्’, उनले भनेका छन् ।
दुईतिहाई बहुमत पाउँदा पनि सरकार चलाउन नसकेको भन्दै नेता बस्नेतले केपी ओलीको आलोचना गरेका छन् ।
‘नेकपाको दुईतिहाईको सरकार रह्यो । जाँड खाएको हान्ने राँगो जस्तो केपी ओलीको सरकार पनि रह्यो’, उनले भने, ‘विकास भएन । भ्रष्टाचार भयो । अधिनायकवाद शैलीमा सरकार चलायो’, उनले भने, ‘यो कुरा हामीले भनेको होइन । माधव नेपालले संसदमा नै बोलेको हो ।’
उनले भने, ‘प्रचण्डले केपी ओली भ्रष्ट र अधिनायकवादी हुन् भन्ने प्रतिवेदन बनाएर बुझाएका हुन् ।’
केपी ओलीको अगाडि पछाडि गर्ने नेता कार्यकर्ता मोटाएर हान्ने राँगो जस्तो देखिएको कांग्रेस नेता बस्नेतले बताएका छन् ।
‘ओलीका अगाडि पछाडि बस्नेलाई हेर्ने हो भने हान्ने राँगा जस्ता छन् । अरु खान नपाएका दुब्ला छन्’, उनले भने, ‘कम्युनिस्टहरू वातले मान्ने भुत होइनन् । कम्युनिस्टहरू लातले मान्ने भुत हुन् ।’
सिन्धुपाल्चोक क्षेत्र नं. २ मा स्थानीय नेताले नै प्रतिनिधि सभा र प्रदेश सभामा टिकट पाउने उनले बताएका छन् । ‘विगतमा काठमाडौंबाट ल्याएर वा अर्को क्षेत्रको नेतालाई टिकट दिने परम्परा थियो । अब यहीँकै नेताले टिकट पाउँछन्’, नेता बस्नेतले भनेका छन् ।
‘टिकट बाँड्ने त्यो हैसियत राख्ने हामी पनि छौँ । पहिला काठमाडौंबाट ल्याएर टिकट दिने परम्परा थियो । अब त्यो हुनेछैन’, उनले भनेका छन् ।
सिन्धुपाल्चोक क्षेत्र नं. २ मा राजु गोर्खालीले प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसको टिकटबाट प्रतिस्पर्धा गर्ने चर्चा चलिरहेका बेला कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले स्थानीय नेतालाई नै टिकट दिने बताएका छन् ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य विष्णुविक्रम थापासहितका नेताहरूले कांग्रेसप्रति जनताको भरोसा बढेर गएको बताएका थिए ।










बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया