सरकारबारे देउवाले सोँचेर कदम चाल्नु हुन्छः डा.महत

राजविराज । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले कुनै सम्झौता गरेर आफूहरू सरकारमा जाने पक्षमा नरहेको बताएका छन् ।

सप्तरी जिल्लाको राजविराजमा शुक्रबार आयोजित कार्यक्रममा डा.महतले खड्गप्रसाद ओली सरकारको विकल्प खोज्नुपर्ने भए पनि कांग्रेस एक्लैले केही गर्न नसक्ने बताए ।

उनले भने, ‘कांग्रेसको ६१ जना सांसद मात्रै छन् । यसमा मधेशवादी दल र माओवादीको पनि सहकार्य हुनुपर्छ ।’

‘हरेक सम्झौता कांग्रेसले नै गर्नुपर्छ भने कांग्रेस सरकारमा जाँदैन’, सह–महामन्त्री डा.महतले भनेका छन् ।

उनले आफ्नो हात खुटा बाँधेर, चल्नै नसक्ने बनेर सरकारको नेतृत्व लिन नसकिने पनि बताएका छन । उनले भने, ‘यस्तो सरकार अप्ठ्यारोमा पर्छ ।’

डा.महतले सहज रुपमा कांग्रेसको नेतृत्वमा सरकार बन्नु आवश्यक रहेको बताए । उनले वैकल्पिक सरकार निर्माण गरौं भनेर माओवादी र मधेश केन्द्रित दल आउँछन् भने नेतृत्व लिन कांग्रेस तयार रहेको बताएका छन् ।

सह–महामन्त्री डा.महतले भने, ‘अहिले हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाजी सरकारमा जाने विषयमा मौन हुनुहुन्छ भन्ने चर्चा छ । यही कारण उहाँ अगाडि बढिरहनुभएको छैन ।’

डा.महतले सभापति देउवाले धेरै सोँच विचार गरेर कदम चालिरहेको बताएका छन् । उनले कांग्रेस आउने निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढेको बताएका छन् ।

उनले भने, ‘नेपाली कांग्रेसले नै सरकार बनाएपनि या कम्युनिस्टकै सरकार रहिरहे पनि चाँडै चुनाव हुन्छ । अर्काे चुनावमा हाम्रो जित्ने र बहुमत ल्याउने मूल लक्ष्य हो ।’

Published : Friday, 2021 March 19, 10:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया