भारतले नुवाकोटमा बनाइदियो १७.६ करोडमा ४ वटा विद्यालयका भवनहरू
नुवाकोट । नुवाकोट जिल्लामा भारत सरकारको सहयोगमा चार वटा विद्यालयहरूको भवन पुनःनिर्माण भएको छ ।
श्री कालिका, श्री पिमलटार, श्री पञ्चलिङ्गे र श्री सरस्वती माध्यमिक विद्यालयको भवनहरू भारत सरकारको पुनर्निर्माण अनुदानअन्तर्गत निर्माण गरिएको नेपालका लागि भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भवन हस्तान्तरण कार्यक्रममा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (नुवाकोट), ककनी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, तारकेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिकाका प्रतिनिधि एवम् अन्य सरोकारवालाहरूको उपस्थिति थियो ।
भारतीय राजदूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रमुख नवीन कुमार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नुवाकोटमा पुनर्निर्माण गरिएका चार वटा विद्यालयहरूको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप निर्माण गरिएका यी चार विद्यालयहरूको पुनर्निर्माण लागत करिब १६.७ करोड नेपाली रुपियाँ रहेको छ ।
नवनिर्मित विद्यालयमा कक्षा कोठा भवन, प्रशासनिक भवन, अभ्यास भवन र छात्र तथा छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा रहेको छ ।
चार विद्यालयमा अध्ययनरत १८०० भन्दा बढी विद्यार्थीका लागि नवनिर्मित संरचनाले अझ प्रभावकारी वातावरण सिर्जना गर्नेछ ।
शिक्षाको क्षेत्रमा पुनार्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता अनुरुप नेपालका आठ जिल्लामा ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण भइरहेको छ ।
यी चार विद्यालय पनि यही परियोजना अन्तर्गतका हुन् । यस परियोजनाबाट लाभान्वित हुने आठ जिल्लाहरु क्रमशः गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ र काठमाडौं हुन् ।
हालसम्म ८ वटा विद्यालय निर्माण भइसकेका छन् भने बाँकी ६२ वटा विद्यालयहरु निमार्णाधीन अवस्थामा रहेको भारतीय राजदूतावासको विज्ञप्तिमा उल्लेख छ ।
भारतीय राजदूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभाग प्रमुख कुमारले राष्ट्र र जनताको सुनिश्चित भविष्यका लागि शिक्षा नै सर्वोत्तम लगानी रहेको कुरामा विशेष जोड दिए ।
शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा थप बल प्रदान गर्दै भारत सरकारले सन् २००३ यता सयौं शैक्षिक क्याम्पस निर्माण गरिसकेको उनले बताएका छन् ।
भारत–नेपाल सम्बन्धलाई अझ मजबुत बनाउन भारत सरकारले प्रदान गर्दै आएको ३००० भन्दा बढी छात्रवृत्तिको लाभ लिन नवीन कुमारले नेपाली विद्यार्थीलाई अनुरोध गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया