तनावमा परेका ओलीले नेपाललाई फकाउन दिए सानो पद

काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता खड्गप्रसाद ओलीले माधव नेपाल र झलनाथ खनाललाई संसदीय बोर्डमा मनोनीत गरेका छन् ।

बालुवाटारमा बिहीबार बसेको संसदीय दलको बैठकमार्फत ओलीले नेपाल र खनालसहितका नेताहरूलाई बोर्डमा नियुक्त गरेका हुन् ।

बोर्डमा प्रतिनिधि सभामा दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरीसमेत पदेन सदस्य रहने गरी कुल २७ सदस्य रहने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

बोर्डको अध्यक्ष ओली रहेका छन् । सदस्यहरूमा माधव नेपाल, झलनाथ खनाल, संसदीय दलका उप–नेता सुवासचन्द्र नेम्वाङ, शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता न्यौपाने र विमला विकलाई मनोनीत गरिएको छ ।

सुमन प्याकुरेल, विमला राई, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा र राजेन्द्र राई, छविलाल विक, नारदमुनी राना र मोहन बानियाँसमेत बोर्डमा परेका छन् ।

ओलीले संसदीय दलको विधान संशोधन गर्न तीन सदस्यीय विधान संशोधन कमिटी बनाएका छन् ।

नेकपा (एमाले) संसदीय दलको विधान २०७२ को दफा २९ बमोजिम प्रमुख सचेतक विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई रहेको तीन सदस्सीय विधान संशोधन कमिटी समेत गठन गरेको एमालेले जनाएको छ ।

ओलीद्वारा बोलाइएको बिहीबारको संसदीय दलको बैठकमा वरिष्ठ नेता नेपाल–खनाल समूहले बहिस्कार गरेको छ ।

ललितपुरमा राष्ट्रिय भेला भएका कारण व्यस्तता जनाउँदै नेपाल समूह दलको बैठकमा नगएको हो । नेपाल–खनाल समूहले आफूहरूको भेला बिथोल्न ओली समूहले संसदीय दलको बैठक बोलाएको आरोप लगाएको छ ।

ओलीले गुटको बैठकमार्फत एमालेका पदाधिकारीहरू फाल्ने निर्णय गरेको भन्दै नेपाल–खनाल समूहले आक्रोश पोख्दै आएको छ ।

Published : Thursday, 2021 March 18, 5:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया