कांग्रेस पार्टी कम्युनिस्ट जस्तो हुतिहारा र निकम्मा होइनः डा.महत

धनगढी । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले सरकारको नेतृत्वका लागि कांग्रेस तयार रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा.महतले भने, ‘स्वाभाविक र प्राकृतिक रुपमा नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनुपर्छ ।’

‘अस्वाभाविक र अप्राकृतिक शर्तहरू मानेर कांग्रेसले नेतृत्व लिनुको अर्थ छैन’, उनले भनेका छन् । ‘कांग्रेस सरकारका नेतृत्व लिन तयार छ’, डा.महतले भने, ‘कांग्रेस पार्टी कम्युनिस्ट जस्तो हुतिहारा र निकम्मा होइन ।’

उनले भनेका छन्, ‘कम्युनिस्ट सरकारको विकल्प जरुरी छ, लोकतान्त्रिक मूल्य र मान्यतालाई मजबुत गर्न जरुरी छ ।’

‘यो सरकारबाट देश चल्न सक्दैन’, सह–महामन्त्री डा.महतले भने, ‘त्यो बुझेर, निष्कर्ष निकालेर नेपाली कांग्रेसले नेतृत्व लिनुपर्छ भन्ने कुरा आयो भने हामीले नेतृत्वबाट भाग्ने कुरा आउँदैन ।’

सह–महामन्त्री डा.महतले कसैको नेतृत्वमा सरकारमा नजाने बताएका छन् । कांग्रेस अझै पनि केही समय हेर र पर्खको अवस्थामा रहको बताए । उनले अरुको नेतृत्वमा सरकारमा नजाने बताएका छन् ।

उनले नेपाली कांग्रेस आमनिर्वाचन केन्द्रित भएको बताएका छन् । आफूहरूको मूल लक्ष्य आमनिर्वाचन भएपनि अबको अल्पकालीन अवस्थामा संसदको अंक गणितको अवस्था हेरेर अगाडि बढ्ने र अनुकूल अवस्था भए सरकारमा जान पनि सक्ने डा.महतले बताएका छन् ।

नेपाली कांग्रेसका सह–महामन्त्री डा.महत पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन् कैलाली र कञ्चनपुर जिल्लाको भ्रमणमा छन् ।

Published : Monday, 2021 March 15, 7:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया