काठमाडौंमै कांग्रेसले कम्युनिस्टको जमानत जफत गरिदियो, अध्यक्षमा गिरी निर्वाचित

शरद रेग्मी

काठमाडौं । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)को केन्द्रीय अध्यक्षमा अर्जुन गिरी अत्याधिक मतका साथ विजयी भएका छन् ।

काठमाडौंमा भएको सातौं राष्ट्रिय अधिबेशनबाट गिरी १६१ मतका साथ विजयी भएका हुन् । नेपाली कांग्रेस निकट मानिने गिरीले आफ्ना प्रतिद्वन्द्वीलाई १४७ मतअन्तरले हराएका हुन् ।

गिरीका कपिलदेव खनालले अध्यक्षमा उम्मेदवारी दिएका थिए । खनालले जम्मा १४ मतमात्रै पाएका छन् । अध्यक्षमा उम्मेदवारी दिएर १४ मतसहित नराम्रोसँग पराजित भएका खनाल नेकपा (माओवादी) केन्द्र निकटका हुन् ।

माओवादीहरूले अकोराबको निर्वाचन बिथोल्ने प्रयास समेत गरेका थिए । निर्वाचन बिथोल्न खोजेको दण्ड माओवादीले पाएको छ । निर्वाचनमा १ सय ७८ मत खसेको थियो । मतगणनामा ३ मत मात्रै बदर भएको थियो ।

यसअघि गिरी अकोराबमा वरिष्ठ उपाध्यक्ष थिए । अध्यक्षमा निर्वाचित गिरी दाङस्थित रेडियो तुलसीपुरका स्टेशन म्यानेजर हुन् । घोराहीको रेडियो स्वर्गद्वारीबाट रेडियो पत्रकारिता शुरु गरेका गिरीले पछि रेडियो तुलसीपुर स्थापना गरेका थिए ।

अकोराबका अन्य बाँकी सबै पद निर्विरोध भएको छ । अकोराबको नयाँ नेतृत्वको वरिष्ठ उपाध्यक्षमा विष्णुदत्त अवस्थी, महिला उपाध्यक्ष बन्दना दनुवार, समावेशी उपाध्यक्षमा भुवन सिंह, निमेष कर्ण र मिलन गाहा, महासचिवमा किशोरजंग थापा, कोषाध्यक्षमा सरोज पौडेल र सचिवमा सुदर्शन खतिवडा निर्विरोध भएका छन् ।

सातौं अधिवेशनबाट केन्द्रीय सदस्य र प्रदेश कमिटी पनि निर्विरोध चुनिएका छन् ।

कम्युनिस्टहरू विभाजन भएका बेला कांग्रेस निकटका गिरीले अकोराबमा विपक्षी उम्मेदवारको जमानत जफत हुने गरेर विजयी भएका छन् ।

अकोराबमा कम्युनिस्टहरूको बहुमत छ । तर, यस पटक कांग्रेसले केही कम्युनिस्टलाई हातमा लिएर अध्यक्ष पद कब्जा गरेको छ । यसअघि अकोराबमा कांग्रेसको पत्तासाफ हुँदै आएको थियो ।

कम्युनिस्ट फुट्नेवित्तिकै कांग्रेसले कम्युनिस्टको बाहुल्य रहेको अकोराबमा कब्जा जमाएको छ ।

Published : Thursday, 2021 March 11, 11:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया