भारतले बनाइदियो ललितपुरमा सहकारी संघको भवन

ललितपुर । भारतले ललितपुरस्थित जिल्ला सहकारी संघ लिमिटेडको भवन बनाइदिएको छ ।

नयाँ सहकारी प्रवर्द्घन केन्द्र भवनको बुधबार काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य सी खम्पाले उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा पूर्वअर्थ राज्यमन्त्री उदय राणा, सहकारी संघ लिमिटेड, ललितपुरका अध्यक्ष माधव दुलाल तथा संघका पदाधिकारी र जिल्ला समन्वय समितिका प्रतिनिधिहरूको उक्त समारोहमा उपस्थिति थियो ।

भारत सरकारको साढे ३ करोड आर्थिक सहयोगमा भवन निर्माण भएको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाल—भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत निर्मित तीन तल्ले नयाँ भवनमा बहुउद्देश्यीय बेसमेन्ट, ग्राउण्ड र दोस्रो तल्ला छन् ।

पहिलो तल्ला खल्ला बजारका लागि प्रयोग गरिनेछ । दोस्रो तल्लामा कार्यालय एवम् प्रशिक्षण कक्ष, बहुउद्देश्यीय हल, एउटा स्रोत केन्द्र तथा चमेनागृह रहनेछ भने बहुउद्देश्यीय बेसमेन्टको एउटा खण्डमा पार्किङ्गको सुविधा हुनेछ ।

यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत रहेको छ र यसको कार्यान्वयन जिल्ला समन्वय समिति, ललितपुरले गरेको हो ।

भारतले नेपालमा ४४६ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको छ । जसमध्ये ललितपर जिल्लाका ९ वटा परियोजना सहित ८४ वटा परियोजना प्रदेश नं ३ मा रहेको छ ।

यी बाहेक भारतीय राजदूतावासले ललितपुर जिल्लाका विभिन्न स्वास्थ्य चौकी, गैरसरकारी संस्था तथा शैक्षिक संस्थाहरुलाई १८ वटा एम्बुलेन्स र ९ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।

सन् १९७२ मा स्थापित यस सहकारी संघ लिमिटेडको सदस्य समाजको रुपमा ७६५ वटा सहकारी रहेका छन् भने तीन लाख पचास हजार भन्दा बढी सदस्यता रहेको छ ।

यस सहकारी संघको मुख्य उद्देश्य भन्नु नै सदस्य सहकारीको गतिविधिको नेतृत्व, समर्थन, समन्वय र प्रवद्र्घन गर्नुका साथै खेती किसानी गर्ने समुदायको विकास एवम् सुदृढीकरण गर्नु हो ।

Published : Wednesday, 2021 March 10, 6:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया