चियापसलमा बसेर कांग्रेसले कांग्रेसलाई गाली गर्ने कार्य बन्द गरौँः खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार असफल भएका बेला कांग्रेसले देशभरि एकताको सन्देश दिनुपर्ने बताएका छन् ।
बुधबार स्व.मित्रसेन दाहालको १३औँ दिनको पून्यतिथिका अवसरमा काठमाडौंमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै खतिवडाले एकताको सन्देश दिन सकियो भने मात्रै आगामी निर्वाचनमा कांग्रेसले जित्ने बताए । उनले चियापसलमा बसेर एउटा कांग्रेसले अर्को कांग्रेसलाई धारेहात हालेर गाली गर्ने प्रवृत्ति छाड्नुपर्ने बताएका छन् ।
‘एकताको सन्देश दिन सक्यौँ भने कांग्रेसले आगामी निर्वाचनमा जित्छ’, उनले भने, ‘झण्डै दुईतिहाइ बहुमत पाउँदा पनि कम्युनिस्ट पार्टी असफल भएको बेला कांग्रेसले एकताको सन्देश दिनुपर्छ ।’
‘एउटा कांग्रेसले अर्को कांग्रेसको कुरा काट्ने काम भयो भने कांग्रेस पार्टी कमजोर हुनेछ’, खतिवडाले भने, ‘चियापसलमा बसेर कांग्रेसले कांग्रेसलाई धारेहात गर्नु हुँदैन ।’

नेता खतिवडाले भने, ‘कांग्रेसलाई हराउने तागत कसैसँग छैन । कांग्रेसलाई हराउने कांग्रेसनै हो ।’
खतिवडाले स्व.मित्रसेन दाहाल मरेर पनि बाँच्ने काम गरेको बताए । ‘उहाँको कामले मित्रसेनलाई चिनाएको छ’, खतिवडाले भने, ‘मित्रसेनले देखाउनु भएको मार्गलाई ओखलढुंगा कांग्रेसले अनुसरण गर्नुपर्छ ।’
खतिवडाले भनेका छन्, ‘राम्रो मान्छेलाई लिएर गयौँ भने ओखलढुंगामा कांग्रेसलाई कसैले हराउन सक्दैन ।’
खतिवडाले मित्रसेन दाहालसँग भएको अन्तिम टेलिफोन सम्वादका बारेमा पनि स्मरण गरेका थिए । ‘म ओखलढुंगाबाट काठमाडौं आउँदा मित्रसेन दाईसँग कुरा भएको थियो’, उनले भने, ‘ओखलढुंगा कांग्रेसले गरेको कार्यक्रम फेसबुकमा हेरेको थिए । राम्रो लाग्यो भन्नुभयो ।’
खतिवडाले स्व.मित्रसेन दाहाललाई आफ्नो राजनीतिक गुरु भनेर सम्बोधन गरेका छन् । ‘०३६ सालमा रामपुरमा कक्षा ४ मा पढ्थे । फडिन्द्र दाहाल र मित्रसेन दाहालले मलाई नेविसंघको सदस्यता दिनुभएको थियो’, उनले भने, ‘कांग्रेस प्रतिबन्धित अवस्थामा मलाई चन्द्रकान्त दाईले जिल्ला कार्यसमितिमा सदस्य बनाएर ल्याउनुभएको थियो ।’

‘मित्रसेन दाहालले व्यक्तिगत रुपमा गर्नुभएको सामाजिक कार्यले ओखलढुंगा मात्रै होइन सबैतिर चर्चा भएको छ’, खतिवडाले भनेका छन्, ‘मित्रसेन दाहाल मरेर पनि बाँच्ने काम गर्नुभएको छ । उहाँको कामले मित्रसेनलाई चिनाएको छ ।’
कार्यक्रममा कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महत, ओखलढुंगा कांग्रेसका सभापति प्रदीप सुनुवार, पूर्वसभापति महेश कोर्मोचा, स्व.मित्रसेन दाहालका परिवारजन, शुभेच्छुक लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया