कामचलाउ कम्युनिस्ट सरकारद्वारा सचिवहरूको सरुवा

काठमाडौं । कामचलाउ कम्युनिस्ट सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत एक दर्जनभन्दा धेरै सचिवहरूको सरुवा गरेको छ ।

केही निकायमा पुनः मिलान गर्नुपर्ने भन्दै सरुवालाई अन्तिम रूप भने दिइएको छैन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेश अधिकारीलाई निर्वाचन आयोगमा सरुवा गरिएको स्रोतले जनाएको छ ।

अख्तियारमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तोयम रायलाई लगिएको छ ।
श्रम मन्त्रालयको सचिवमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सूर्यप्रसाद गौतमलाई लगिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको उद्योग सचिवमा प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराईलाई सरुवा गरिएको छ ।

वाणिज्य सचिवमा लोकसेवा आयोगका सचिव अर्जुनप्रसाद पोखरेललाई सरुवा गरिएको छ ।

लोकसेवा आयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तोयनारायण ज्ञवालीलाई सरुवा गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याललाई भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।

शिक्षा सचिव गोपीनाथ मैनाली, निर्वाचन आयोगकी देवकुमारी गुरागाइँ तथा भूमिसुधार मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई भने सार्वजनिक खरिद अनुगमन, वित्त आयोग एवं युवा तथा खेलकुद मन्त्रालयमध्येमा सरुवा व्यवस्थापन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सरुवा भएका मध्ये एकदुई जनालाई मात्रै मिलान गर्नुपर्ने देखिएको भएपनि धेरैको सरुवालाई अन्तिम रूप दिइसकिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

Published : Saturday, 2021 February 13, 8:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया