सानातिना मतभेदलाई भुलेर मिलेर अगाडि बढ्न देउवाको अपील

काठमाडौं । नेपाली कांग्रेसले शहीद दिवसका अवसरमा शुभकामना दिएको छ ।

कांग्रेस सभापति देउवाले शुभकामना सन्देश जारी गरेर शहीदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

‘विक्रम संवत १९९७ देखि २०६२–६३ हुँदै आजसम्म लोकतन्त्र स्थापना र पुनस्र्थापनाको लामो संघर्षमा अनेकौँ वीर सपुतहरूले आफ्नो प्राणको आहुति दिएका छन्’, देउवाले भनेका छन् ।

‘नेपाली जनतालाई पूर्ण राजकीयसत्ता र सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आफूलाई उत्सर्ग गर्ने तिनै अमर शहीदहरूमा श्रद्धा व्यक्त गर्न, उनीहरूको साहस, संकल्प र आदर्शलाई सम्मान गर्न आज हामी शहीद दिवस मनाइरहेका छौं’, उनले भनेका छन् ।

‘लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुन्छ, यसबाट नै विद्यमान विसंगतिहरूको अन्त्य हुनेछ’, सभपाति देउवाले भने, ‘राष्ट्रले दु्रततर रुपमा विकास र निर्माणका कार्यहरू गर्नेछ ।’

‘लोकतन्त्रको एउटा सवल पक्ष समानता हो’, उनले भने, ‘समान हक, समान अवसर र समान न्याय । सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा ती देशभक्त वीर सपुतहरूले आफूलाई सहर्ष उत्सर्ग गरेका थिए ।’

‘आज शहीद दिवसको अवसरमा देश र लोकतन्त्रको हित रक्षाको निमित्त हामीले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गरौं’, सभापति देउवाले भनेका छन् ।

‘मुलुकले सुम्पिएको राष्ट्रिय जिम्मेवारी पूरा गर्न र नेपाललाई एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत गर्नका लागि जिम्मेवार हामी सबै पक्षलाई शहीद दिवसले प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु’, देउवाले भनेका छन् ।

Published : Friday, 2021 January 29, 9:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया