छोरी बोकाउने कम्युनिस्टसँग कांग्रेसको सहकार्य नहुने, पूर्वप्रधानन्यायाधीहरूलाई मुख सम्हाल्न तरुण अध्यक्षको चेतावनी

ललितपुर । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले नेपाली कांग्रेस कुनै पनि कम्युनिस्टसँग सहकार्य गर्न नहुने बताएका छन् ।

ललितपुरमा शनिबार आयोजित सरकार विरोध सभालाई सम्बोधन गर्दै बस्नेतले कांग्रेस कम्युनिस्टसँग मिल्न नसक्ने बताए । केपी ओलीले प्रधानमन्त्री पदको शपथ लिने बेला सांसद पदको शपथ नलिएर शपथ लिएको भन्दै संवैधानिक सर्वोच्चताको कुरा उठाउँदा अहिले सडकमा पुगेका वुद्धिजीवीहरूले कुनै ध्यान नदिएको उनले बताएका छन् ।

ओली प्रधानमन्त्री बन्दा विधि र प्रक्रिया मिचेर शपथ लिएको उनले बताए । कम्युनिस्टहरू आन्तरिक झगडाका कारण फुट्दा संविधान मिचियो भनेर रोइकराइ गरेर सहकार्यका कांग्रेसको साथ खोजेको विषयप्रति अध्यक्ष बस्नेतले असन्तुष्टि जनाए ।

‘त्यो बेला प्रधानमन्त्रीको शपथ संविधान विपरित ओलीले लिँदा कानमा तल हालेर बस्ने, आज कम्युनिस्टहरू फुटना साथ असंवैधानिक कदम भयो भन्ने ? सडकमा पुगेका ती वुद्धिजीवीहरूलाई तरुण दलले त्यस बेला उठाएको कुराको याद छ कि छैन ?’, अध्यक्ष बस्नेतले प्रश्न गरेका छन्, ‘हामीले प्रचण्डसँग कुममा कुम मिलाउन जानुपर्ने ? कुम सधैँ कांग्रेसलाई धोका दिएको प्रचण्डसँग कुम मिलाउन सकिदैन ।’

उनले भने, ‘अन्याय, अत्याचार, भ्रष्टाचार हिजोदेखिनै भएको हो । आज मात्रै भएको होइन ।’

‘कांग्रेस कुनै कम्युनिस्टसँग मिल्न सक्दैनौँ । सरकारवाला कम्युनिस्ट हुन् वा सडकमा रहेका कम्युनिस्ट हुन् । मिल्न सकिदैन’, उनले भने, ‘प्रचण्डले हिजोका दिनमा हाम्रै कार्यकर्ताको घाँटी काटेका हुन् । बारम्बार कांग्रेस र जनतालाई धोका दिएका छन् ।’

तरुण दलका अध्यक्ष बस्नेतले माओवादीलाई कांग्रेसले नै संसदमा ७८ सिट दिएर जंगलबाट संसदमा ल्याएको बताए ।

‘कुममा कुम हल्लाएर हुँदैन । जुँगा पालेर मात्रै हुँदैन । हामीले जंगलबाट ल्याउने तिमीले बारम्बार धोका दिने ?’, उनले भने, ‘छोरीलाई जिताउन कांग्रेसले ठेक्का लिनुपर्ने ? छोरीले जिताएर आएपछि प्रचण्डजी ओलीसँग मिल्न जाने ।’

अध्यक्ष बस्नेतले डा.बाबुराम भट्टराईलाई गोरखाबाट कांग्रेसले जिताएर ल्याएको भन्दै अहिले आएर बाबुरामले कांग्रेसलाई म्युजियममा राख्ने भनेर दिएको अभिव्यक्तिको आलोचना गरेका छन् । माधव नेपाल प्रधानमन्त्री भएका बेला बालुवाटारको जग्गा बिक्री गरेको भन्दै बस्नेतले माधव नेपाललाई पनि कारबाहीको माग गरेका छन् ।

‘माधवजी बालुवाटार तपाईले बेच्ने । तपाईलाई कारबाही नहुने । विजय गच्छदारलाई मात्रै कारबाही गर्ने ? न्यायाधीशलाई कारबाही नहुने । लीलामाणि पौडेललाई कारबाही नुहने । विष्णु पौडेललाई कारबाही नहुने ? मन्त्री नै बनाउनुपर्ने’, बस्तेले आक्रोश पोखेका छन् ।

अध्यक्ष बस्नेतले निर्वाचन आयोगलाई धम्की नदिन प्रचण्ड–माधव समूहलाई चेतावनी दिएका छन् । तरुण अध्यक्ष बस्नेतले सडकबाट चार जना पूर्वप्रधानन्यायाधीशले संसद पुनःस्थापनाको माग गरेर जारी गरेको विज्ञप्तिको पनि विरोध गरेका छन् ।

‘चार जना न्यायाधीशले सडकबाट सर्वोच्च अदालतलाई धम्की दिने होइन । धम्की दिने भए पूर्व प्रधानन्यायाधीशको ट्याग छाड्नुस् । पेन्सन छाड्नस् । जनता भएर आउनुस्’, उनले भने, ‘संसद विघटन गर्नु हुन्न भनेर फैसला दिने ताकत तपाईहरूलाई कहाँबाट आयो ?’

Published : Saturday, 2021 January 16, 11:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया