नवलपरासीमा नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश, खनालद्वारा स्वागत

प्रकाश न्यौपाने

नवलपरासी । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद बिक्रम खनालले प्रधानमन्त्री केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारको आलोचना गर्दै संसद विघटन गर्ने कार्य अलोकतान्त्रिक र असंबैधानिक भएको बताएका छन् ।

नवलपरासी क्षेत्र नं. १ ‘क’मा शनिबार आयोजित सरकार विरोधी सभालाई सम्बोधन गर्दै खनालले ओली सरकारले प्रतिनिधि सभा विघटन गरेर अधिनायकवाद ल्याउन खोजेको बताए । उनले कम्युनिस्टहरूलाई पाठ सिकाएर संविधानको रक्षाका लागि कांग्रेस सडकमा आउनु परेको बताए ।
‘कांग्रेस निर्वाचनमा जान पनि तयार छ । संसद पुनःस्थापना भयो भने पनि मान्छौँ’, उनले भने, ‘कांग्रेस निर्वाचन चहान्छ । निर्वाचन संवैधानिक रुपमा हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीको अकर्मण्यता र अहंकारले निम्तिएको संकटले गर्दा विदेशी शक्तिको चलखेल बढेको उनले बताएका छन् । देश र लोकतन्त्रलाई बचाउन कांग्रेसले मात्रै सक्ने भन्दै नेता खनालले जनताको साथ कांग्रेसलाई हुनुपर्ने बताए ।

उनले कम्युनिस्ट सरकारको ३ वर्षे शासनकालमा जनताको समृद्धि र विकासको आशालाई तुसारापत गर्दै ओलीले भ्रष्टाचारका काण्डहरू मच्चाएको बताए । उनले बालुवाटारमा बसेर ओलीले भ्रष्टाचारीहरूलाई संरक्षण गरेको बताए ।

प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ ‘क’का क्षेत्रीय सभापति बेदप्रसाद शर्माको सभापतित्व तथा क्षेत्रीय सह–सचिव ध्रुव थारुको स्वागत मन्तव्यमा भएको कार्यक्रममा नेविसंघका निवर्तमान सभापति दधि पौडेल, सरावल गाउँपालिका सभापति विनोद पाण्डे, बर्दघाट नगर कार्यसमितिका सभापति शम्भु श्रेष्ठ, तरुण दलका जिल्ला सभापति सुकबहादुर गुरुङ्ग, कांग्रेस नेता मानबहादुर थापा, गृष चौधरी, नेपाल महिला संघकी सभापति कमला पराजुलीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेकपा परित्याग गरि करिव ५५ जना कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूलाई कांग्रेस नेता खनालले पार्टीमा स्वागत गरेका छन् ।

ओली सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका हृदयश त्रिपाठीको जिल्ला नवलपरासीमा नेकपाका नेता कार्यकर्ता कम्युनिस्टहरूसँग रुष्ठ छन् ।

प्रतिनिधि सभा निर्वाचनमा त्रिपाठीले तत्कालीन एमालेको सूर्य चुनाव चिन्ह लिएर निर्वाचित भएका थिए । त्रिपाठीले जिल्लाको विकासमा खासै ध्यान नदिएको आरोप उनका मतदाताहरूको छ ।

Published : Sunday, 2021 January 10, 6:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया