कम्युनिस्टहरू ‘झल्लु’ भए, देश अब कांग्रेसले सम्हाल्छः नेता तिमल्सिना

राजापुर । नेपाली कांग्रेसका युवा नेता एवम् संगठन विभागका सदस्य जन्मजय तिमल्सिनाले पार्टीलाई बलियो बनाउन सबैले आफ्नो व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने बताएका छन् ।

गृहजिल्ला बर्दियाको राजापुर नगरपालिका– ३ मा शनिबार कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता तिमल्सिनाले पार्टी बलियो भयो भने देश, जनताको हित हुने बताए ।

कम्युनिस्टहरूले संविधान उल्लंघन गरेर संसद विघटन गरेको बताएका उनले कांग्रेसलाई आफ्नो नेतृत्वमा बनाएको संविधान रक्षाको चुनौति थपिएको बताएका छन् ।

नेता तिमल्सिनाले कांग्रेसलाई जनताले अबको निर्वाचनमा साथ दिनुपर्ने बताए । कम्युनिस्टहरूलाई झण्डै दुईतिहाइको बहुमत दिँदा पनि तीन वर्षमा संसद विघटन गरेर व्यक्तिगत स्वार्थका लागि अधिनायकवादी निरंकुश शासनको शैली देखाएको भन्दै कांग्रेसले मात्रै देशलाई निकास दिन सक्ने बताएका छन् । उनले कम्युनिस्टहरूले झण्डै दुईतिहाइको बहुमत पाउँदा पनि जनताको अपमान गर्दै ‘झल्लु’ व्यवहार गरेको बताए ।

विगत एक महिनादेखि कांग्रेसका युवा नेता तिमल्सिना गृहजिल्ला बर्दियामा छन् । उनले नेता तथा कार्यकर्ताहरूसँगको भेटघाटलाई तीब्रता दिएका छन् ।

Published : Sunday, 2021 January 3, 12:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया