गम्भीर गल्तीको सजाय कम्युनिस्टले भोग्नुपर्छः कांग्रेसका युवा नेता तिमल्सिना

राजापुर । नेपाली कांग्रेसका युवा नेता एवम् संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमल्सिनाले प्रतिनिधि सभा विघटन भएसँग मुलुकमा ठूलो संवैधानिक चुनौति थपिएको बताएका छन् ।

गृहजिल्ला बर्दियाको राजापुर नगरपालिकाको वडा नं. ८ र ९ मा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूसँगको भेटघाटका क्रममा तिमल्सिनाले कांग्रेसले राष्ट्रियता, संविधान, लोकतन्त्र र जनताको अधिकारका लागि गम्भीर भएर लाग्नुपर्ने दायित्व आएको बताए । उनले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा भङ्ग गरेर जनताको अधिकार खोस्ने काम गरेको आरोप लगाएका छन् ।

कम्युनिस्टहरू कहिल्यै पनि लोकतन्त्रवादी नहुने बताएका कांग्रेसका युवा नेता तिमल्सिनाले संविधानलाई च्यातेर अधिनायकवाद ल्याउन ठूलो प्रयास भएको बताएका छन् । उनले कम्युनिस्टहरूलाई जनताले सबक सिकाउने बेला आएको बताएका छन् ।

कांग्रेसले जहिले पनि संवैधानिक सर्वोच्चतालाई ध्यान दिएको भन्दै तिमल्सिनाले निर्वाचनबाट कांग्रेस कहिल्यै पनि नभाग्ने बताए ।

तर, दुई वर्ष प्रतिनिधि सभाको आयु बाँकी रहँदा रहँदै आफ्नो आन्तरिक घरझगडाले जनताको प्रतिनिधि संस्था विघटन गर्ने प्रधानमन्त्री ओलीका कदमको चर्को आलोचना गरे । उनले कम्युनिस्टहरू मुलुकमा शासन सत्ता चलाउ असफल भएको बताएका छन् ।

कांग्रेसका युवा नेता तिमल्सिना गृहजिल्ला बर्दियामा करीव एक महिनादेखि छन् । उनले पार्टीका नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गर्नुका साथै कांग्रेसको संगठन निर्माणमा आफूलाई केन्द्रित बनाएका छन् ।

Published : Friday, 2021 January 1, 11:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया