कम्युनिस्टसँग भिड्न कांग्रेसभित्र भावनात्मक एकता चाहिन्छः बालकृष्ण खाँण
भैरहवा । नेपाली कांग्रेसका केन्दीय सदस्य एवम् पूर्वमन्त्री बालकृष्ण खाँणले कांग्रेस बलियो भने राष्ट्रियता बलियो हुनेभन्दै पार्टीभित्रको भावनात्मक एकताप्रति जोड दिएका छन् ।
गृहजिल्ला रुपन्देहीको भैरहवामा राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खाँणले कांग्रेसलाई कामजोर बनाउन संविधानमाथि प्रहार भएको बताए ।
प्रधानमन्त्रीले संविधानमा नभएको अधिकार प्रयोग गरेर ओलीले संसद विघटन गरेको दोहोर्याए । उनले भने, ‘यस्तो अवस्थामा पार्टीभित्र भावनात्मक एकता र मेलमिलापको नीति झन् आवश्यक्ता छ ।’
‘कांग्रेसभित्र भावनात्मक एकता हुनुपर्छ’, उनले भने, ‘कांग्रेस कमजोर भयो भने राष्ट्रियता, लोकतन्त्र कमजोर हुन्छ ।’
‘यस्तो समयमा संविधानमाथि प्रधानमन्त्री केपी ओलीले प्रहार गर्नुभएको छ । हामी गम्भीर बन्नुपर्ने भएको छ’, विघटित प्रतिनिधि सभामा कांग्रेसका प्रमुख सचेतक समेत रहेका खाँणले भने, ‘यो अवस्थामा वीपीको मेलमिलापको नीति अझै सान्दर्भिक बनेको छ ।’
नेता खाँणले कांग्रेसको नेतृत्वमा बनेको संविधानलाई रक्षा गर्ने दायित्व आएको बताए । उनले हतित्यार बोकेर हिँडेका कम्युनिस्टलाई हतियार बिसाउन लगाएर संविधान मान्न लगाउनुपर्ने बताए । कम्युनिस्ट पार्टीहरूलाई मूलधारको राजनीतिमा ल्याउने दायित्व कांग्रेसको भएको उनले बताएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता भरत शाहले वीपी कोइरालाको मेलमिलापको नीतिलाई पालन गर्नुपर्ने बताए । उनले भने, ‘हामीले वीपीको मेलमिलापको नीतिलाई कार्यान्वयन गर्यौँ भने कांग्रेस कहिल्यै हार्दैन ।’
रुपन्देही कांग्रेसका पूर्वसभापति रामचन्द्र ढकालले संसद विघटन भएको अवस्थामा मुलुकमा राष्ट्रिय मेलमिलापको आवश्यक्ता रहेको बताए । उनले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले ठूलो गल्ती गरेको बताए ।
कांग्रेसका नेता देवीप्रसाद चौधरीले वीपीले देखाएको बाटोलाई कांग्रेसका नेता कार्यकर्ताहरूले मनैदेखि पालना गर्नुपर्ने बताए । उनले कम्युनिस्टहरू मुलुकमा असफल भइसकेको भन्दै देशको नेतृत्व जनताको अभिमत लिएर कांग्रेसले नेतृत्व गर्ने बेला आएको बताएका छन् ।
रुपन्देही कांग्रेसका सभापति अब्दुल रज्जाकको सभापतित्वमा भएको कार्यक्रममा नेताहरू बालकृष्ण खाँण, भरत शाह, रामचन्द्र ढकाल, देवीप्रसाद चौधरी, फकुरदिन खान, रमा अर्याललगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको जनसम्पर्क समिति समन्वय विभागका सदस्य विमल ढकालले जानकारी दिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया