ओलीका सल्लाहकार थापाको जिल्लामा पार्टी कार्यालय कसले कब्जा गर्‍यो ?

प्यूठान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्यूठानको जिल्ला पार्टी कार्यालय प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली समूहले कब्जामा लिएका छन् ।

केन्द्रमा पार्टी फुटको अन्तिम संघारमा रहेका बेला आईतबार ओली समूहका युवा संघ नेपालका नेता कार्यकर्ताहरूले पार्टी कार्यालयमा ताला लगाएका हुन् ।

ओली पक्ष युवा संघ नेपालका केन्द्रीय सदस्य विनोद ओलीको नेतृत्वमा पार्टी कार्यालय कब्जामा लिएको नेकपा जिल्ला नेता लीला जिसीले जानकारी दिए ।

तत्कालीन एमालेले रगत पसिना बगाएर बनाएको पार्टी कार्यालयमा अन्यलाइ घूसपैठ हुन नदिने युवासंघका केन्द्रीय नेता ओलीको भनाइ थियो ।

बिजुवारस्थित उमेश स्मृति प्रतिस्ठान कार्यालय तत्कालीन नेकपा (एमाले)का जिल्ला अध्यक्ष तुलसीराम शर्माको कार्यकालमा बनेको थियो ।

पूर्व एमालेका जिल्ला नेताले दिएको जग्गामा सो भवन निर्माण गरिएको थियो ।

जिल्ला अध्यक्ष र उपाध्यक्षसहित बहुमत सदस्य आफूसँग रहेको ओली समूहको दाबी छ ।

प्यूठान प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाको गृहजिल्ला पर्छ ।

Published : Sunday, 2020 December 27, 4:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया