मुलुकमा अब कांग्रेसले शासन चलाउँछः केन्द्रीय सदस्य शाह, कपिलवस्तुमा दुई सयभन्दा धेरै प्रवेश
कपिलवस्तु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता अभिषेकप्रताप शाहले अबको समय कांग्रेसको शासन चल्ने बताएका छन् ।
कम्युनिस्टहरूलाई जनताले दुईतिहाइ बहुमत दिँदा पनि शासन चलाउन नसकेको भन्दै अबको शासन कांग्रेसको हुने बताए ।
तीन वर्ष नेकपा पार्टीले पाएको बहुमतबाट जनता आजित भएको भन्दै ९ महिना बन्द रहेको पशुपतिनाथ मन्दिरको ढोका खोले संगै नेपाली कांग्रेस पनि अब शसक्त रुपमा आएको बताउनुभयो ।
कपिलवस्तुको क्षेत्र नम्बर ३ ‘२’ ले शनिबार कृष्णनगरमा ‘देशमा उत्पन्न राजनैतिक संकट र नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेता शाहले संसद विघटन गरेर केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार अधिनायकवादतर्फ लागेको आरोप लगाए । उनले कम्युनिस्टहरूको अधिनायकवाद कांग्रेसलाई स्वीकार्य नरहेको बताए ।
‘प्रधानमन्त्री केपी ओलीको गलत निर्णयविरुद्ध कपिलवस्तु कांग्रेस आन्दोलनमा होमिनेछ’, उनले भने, ‘पुस १३ गतेको आन्दोलन सशक्त हुनेछ ।’

केन्द्रीय सदस्य शाहले पुस १३ गतेको सरकारविरुद्धको आन्दोलनमा सशक्त रुपमा सडकमा उत्रिन कांग्रेसका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य राजेश सिंहले ओली सरकारको पालामा किसानले एक बोरा मलखाद पनि पाउन नसकेको बताए । उनले सरकारले विकास निमार्ण जस्ता काम पनि गर्न नसकेको भन्दै आगामी दिनमा कांग्रेसको पक्षमा जनलहर चलेको बताए ।
कपिलवस्तु कांग्रेसका सभापति सुरेन्द्रराज आचार्यले ओली सरकार र राष्ट्रपतिको मिलोमतोमा लोकतन्त्रमाथि गम्भीर खेलवाड भएको बताए । उनले सरकार लोकतन्त्र मास्न र एकाधिकारको लागि संसद विघटन गरेको आरोप लगाए । आचार्यले तीन वर्षमा जनतालाई कम्युनिस्ट सरकारले सास्ती मात्र दिएको बताए ।
कार्यक्रममा पूर्वपार्टी सभापति राजेश आचार्य, सुधाकर पाण्डेय, प्रदेश सभा सदस्य रिना नेपाल, जिल्ला सचिव प्रेमबहादुर रायमाझी, क्षेत्रीय सभापति अकेल मियाँ, गिरिजेशकुमार पाण्डेय, युवा नेता अजय थापा, हरि पोख्रेल, राजेश ज्ञवाली, शक्तिसिंह ठकुरी, मीना केसी, तिलक थापा लगायतको उपस्थिति रहेको थियो ।

क्षेत्रीय सभापति विनयकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रमलाई अमर थापाले सञ्चालन गरेका थिए ।
कांग्रेसको परिपत्रअनुसार सरकारले गरेको असंबैधानिक कदमविरुद्ध पुस १३ गते सोमबार प्रत्येक निर्वाचन क्षेत्रमा विरोध सभा हुनेछ ।
कपिलवस्तु कांग्रेसका सभापति आचार्यले विरोध सभामा सहभागी हुन निर्देशन दिएका छन् ।
कपिलवस्तु क्षेत्र नं. १ को बुद्ध रंगशालामा कार्यकर्ता जुटेर ४ नम्बर जितपुरमा विरोध प्रदर्शन गर्ने क्षेत्रीय सचिव प्रेमप्रसाद पौडेलले जानकारी दिए ।
क्षेत्र नम्बर २ को महाराजगञ्ज नगरपालिका क्षेत्रमा विरोध सभा गर्ने क्षेत्रीय सभापति केशवकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

क्षेत्र नम्बर ३ मा शिवराज नगरपालिकाको चन्द्रौटामा विरोध सभाको कार्यक्रम राखिएको क्षेत्रीय सभापति अकेल मियाँले बताए ।
यसैबीच, कार्यक्रममा नेकपासहित विभिन्न राजनीतिक दल परित्याग गरेर दुई सयभन्दा धेरै स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई केन्द्रीय सदस्य शाह, सभापति आचार्यसहितका नेताहरूले पार्टीमा स्वागत गरेका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया