प्रदेश २ को भेलामा उप–प्रधानमन्त्रीद्वारा निर्वाचनको तयारीमा लाग्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश २ का केन्द्रीय सदस्य, सांसद, पूर्वसांसद, मेयरलगायतका अगुवा नेताहरूलाई मुलुकको पछिल्लो बस्तुस्थितिका विषयमा जानकारी गराइएको छ ।

काठमाडौंको घट्टेकुलोस्थित काठमाडौं नेश्नल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा बुधबार उप–प्रधानमन्त्री समेत रहेका नेकपाका नेता ईश्वर पोखरेलले प्रशिक्षण र पार्टी विभाजनलगायतका विषयमा जानकारी दिएको केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेले जानकारी दिए ।

उप–प्रधानमन्त्री पोखरेलले वैशाखमा हुने निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन् ।

पोखरेलले निर्वाचनमा पार्टीलाई सबैभन्दा ठूलो बनाउने गरि संगठनात्मक कार्यहरू गर्नेभन्दै चुनौति र अवसरलाई आत्मसात गरेर जानुपर्ने बताएका छन् ।

न्यौपानेले आफ्नै पार्टीको सरकार र प्रधानमन्त्रीलाई पार्टीभित्रैबाट केही नेताहरूले व्यक्तिगत स्वार्थमा निरन्तर असहयोग गरेपछि देश, जनता र राष्ट्रियताका लागि संसद विघटन गर्नुपरेको जानकारी भेलामा दिइएको बताए ।

‘उप–प्रधानमन्त्री एवम् पार्टीका वरिष्ठ नेता ईश्वर पोखरेलले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी विभाजन हुनुको कारण, संसद विघटन र अब कसरी अगाडि बढ्ने भन्नेबारेमा प्रशिक्षण र जानकारी गराउनुभएको छ’, नेता न्यौपानेले भने, ‘विषम परिस्थितिमा पार्टीलाई थप सशक्त र प्रभावकारी रुपमा अगाडि बढाउन निर्देशन भएको छ ।’

प्रशिक्षण कार्यक्रममा उप–प्रधानमन्त्री पोखरेलका साथै प्रदेश २ का ईञ्चार्ज सत्यनारायण मण्डल, सुमन प्याकुरेल, महिला बालबालिका तथा जेष्ठ नागरिक, समाज कल्याणमन्त्री लीलानाथ श्रेष्ठ, पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपाने, जुली महतो, हरि उप्रेती, रेखा झा, निर्मला देवकोटा, राज मोहम्मद अन्सारीलगायत करीव दुई सय जनाको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2020 December 23, 5:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया