ओलीको समर्थनमा प्रचण्डकै जिल्लामा ‘प्रचण्ड–रेणु’ जिल पर्ने प्रदर्शन

शिशिर सिंखडा

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको समर्थनमा चितवनमा भव्य प्रदर्शन भएको छ ।

भरतपुरको चौविसकोठीमा मंगलबार साँझ ओलीका समर्थकहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका नेता तथा कार्यकर्ताले ओलीको कदमको समर्थन गरेका छन् ।

पार्टीभित्रैबाट असहयोग भएपछि प्रधानमन्त्री ओलीले संसद बिघटन गरि मध्यावधि चुनाव गर्न बाध्य भएको अनेरास्ववियुका नेता हरि आचार्यले बताए ।

प्रदर्शनमा सहभागी युवा, विद्यार्थी र नेकपाका नेताहरूले ओलीको समर्थन र पुष्पकमल दाहाल ‘प्रचण्ड’को विरुद्धमा नारावाजी गरेका थिए ।

प्रदर्शनकारीले ‘केपी ओली हाई–हाई, प्रचण्डलाई बाई–बाई’, केपी ओली जिन्दावाद, जबज जिन्दावाद जस्ता नारा लगाएका थिए ।

ओलीको समर्थनमा उत्रिएका नेकपाका युवा नेता कमलराज पाठक, देव पाठक लगायतले मन्तव्य राखेका थिए । ओलीको कदमको स्वागत गर्दै उनीहरूले दीप प्रज्वलन समेत गरेका थिए ।

प्रचण्डले चितवनबाट प्रतिनिधि सभामा जितेका थिए । उनकी छोरी रेणु दाहाल भरतपुर महानगरपालिकाकी मेयर छिन् । प्रचण्ड र रेणु दाहालकै जिल्लामा ओलीको समर्थनमा भव्य प्रदर्शन भएको छ ।

Published : Wednesday, 2020 December 23, 9:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया