जलजलामा भू–सेवा केन्द्र स्थापना, जग्गासम्बन्धी कारोबार गाउँबाटै हुने

कुश्मा । पर्वत जिल्लाको जलजला गाउँपालिकाले भू–सेवा केन्द्र स्थाना गरेको छ ।

स्थानीय तहबाट जनतालाई लिखित पारित, अंशवण्डा, राजीनामा, नामसारी लगायत जग्गासम्बन्धी कामकाजका लागि मालपोत कार्यालयमा पेश गर्नुपर्ने निवेदन र लिखत गाउँपालिकाबाट उपलब्ध हुने गरी सेवा केन्द्र स्थापनाको शुभारम्भ गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले कुश्मामा रहेको कार्यालयबाट प्रदान हुने सेवाहरू विस्तारै गाउँपालिकाबाट जनतालाई उपलब्ध गराउन लागेको बताए ।

कार्यालय स्थापना भएपछि मालपोत कार्यालयमा व्यक्ति तथा कानून व्यवसायीमार्फत हुने भू–सेवाको काम स्थानीयतहबाटै हुने प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।

उनले केन्द्रवाट उपलब्ध गराइने सेवासुविधाका बारेमा वडा कार्यालयमा समेत आवश्यक कागज–पत्रसहित विवरण जनप्रतिनिधिमार्फत जानकारी लिन सकिने बताए ।

प्राविधिक सामग्रीसहित जनशक्तिको ब्यवस्थापन गरी भू–सेवा केन्द्रबाट हुने सेवाका बारेमा समुदायस्तरमा समेत प्रचार–प्रसार गरिने शर्माले बताएका छन् ।

अनलाईनमा भएको फारम भरेर प्रिन्ट गरी प्रमाणीकरणका लागि मालपोत कार्यालयमा निवेदन र लिखत पठाउँदा सेवा प्रवाह सहज हुने प्रमुख प्रशासकीय अधिकृत शर्माले बताएका छन् ।

जलजला गाउँपालिकामा सेवा शुरु हुनु अगाडि कर्मचारीहरूलाई भू–सेवाले गर्ने काम गराउनको लागि तालिम समेत दिइएको थियो ।

भू–सेवा केन्द्रले स्मार्ट मालपोतको अभ्यास हुने गाउँपालिकाका अध्यक्ष मल्लले बताएका छन् ।

अध्यक्ष मल्लले आफ्नो जलजला गाउँपालिकाका जनतालाई घर आँगनमा सेवा दिन हरसम्भव प्रयासहरू गरिरहेका छन् ।

Published : Monday, 2020 December 21, 10:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया