गोरखामा कम्युनिस्टका झण्डै एक सय कार्यकर्ता कांग्रेसमा प्रवेश, जिल परे नारायणकाजी श्रेष्ठ

गोरखा । गोरखा जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहितका विभिन्न दल परित्याग गरेर झण्डै एक सय नेता कायकर्ता नेपाली कांग्रेसमा प्रवेशगरेका छन् ।

सोमबार शहीद लखन गाउँपालिका–५ मा नेपाली कांग्रेस गाउँपालिका कार्यसमितिका संयोजक रितबहादुर थापाको सभापत्विमा आयोजित कार्यक्रममा नेकपाका ८५ जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको युवा नेता एवम् वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि एवम् गोरखा कांग्रेसका सभापति हरिबहादुर घलेसहितका नेताहरूले नवप्रवेशीहरूलाई कांग्रेसमा स्वागत गरेका हुन् । सभापति घलेले नवप्रवेशीहरूलाई भेदभाव नगर्ने भन्दै कांग्रेसलाई जिताउन ईमान्दार भएर सक्रिय हुन निर्देशन दिएका छन् ।

कार्यक्रममा पार्टी सचिव नन्दप्रसाद न्यौउपाने, कोषाध्क्षय कृष्णबाहदुर आले, सह–सचिव नारायण लामिछाने, कांग्रेस नेता काशिनाथ अंगाई, युवा नेता शरण श्रेष्ठ, तरुण दल जिल्ला अध्यय आन्नद गुरुङ, तरुण दलका क्षेत्रीय अध्यक्ष प्रवीण बस्नेत, नेपाल किसान संघका उपाध्क्षय खुनप्रसाद रेग्मीको उपस्थिति रहेको थियो ।

शहीद लखन गाउँपालिका–४ का कांग्रेसका संयोजक राजन तिवारी, तरुण दल क्षेत्रीय सचिव भरत रेग्मी, तरुणभक्त ढकाल, विद्यार्थी मञ्चका उपाध्यक्ष राजन श्रेष्ठ, नेपाल दलित विद्यार्थी संघका अध्यक्ष रचन परियारलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

शहीद लखन गाउँपालिका–५, ताक्लुङका बिभिन्न स्थान मास्किछाप, गुरुदुम, काहुले, तोरेन, भैसीपोल, पोखरीडाँडा, देउराली छापका नेकपाका स्थानीय ८५ नेता तथा कार्यकर्ताहरूले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेको कांग्रेसका युवा नेता श्रेष्ठले जानकारी दिए ।

गोरखा जिल्लाबाट राष्ट्रिय सभामा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ सांसद छन् । श्रेष्ठ प्रतिनिधि सभाको निर्वाचनमा डा.बाबुराम भट्टराईसँग पराजित भएका थिए । डा.भट्टराईलाई कांग्रेसले साथ दिएपछि प्रतिनिधि सभाको निर्वाचनमा श्रेष्ठलाई हराएर निर्वाचित भएका थिए ।

डा.भट्टराई र श्रेष्ठले जिल्लाको विकासको काममा सिन्को पनि भाँच्न नसकेको भन्दै आलोचना भइरहेका बेला र नेकपा आन्तरिक रुपमा फुटेर धुजाधुजा भएका बेला गोरखामा नेकपाका नेता कार्यकर्ताले नेकपा छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।

Published : Monday, 2020 December 21, 9:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया