प्रचण्डले मागे ओलीसँग स्पष्टीकरण

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीसँग स्पष्टीकरण मागेको जनाएका छन् ।

दाहालले सोमबार बिहान विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओलीले चालेको प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भएको जनाएका हुन् । उनले ओलीलाई अनुशासनको कारबाही गर्न स्पष्टीकरण सोधिएको जनाएका छन् ।

‘हाम्रो पार्टीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी ओलीले चालेको प्रतिनिधि सभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदमलाई हिजो बसेको स्थायी कमिटीको बैठकले विरोध एवम् भर्त्सना गर्दै पूर्ण रुपमा अस्वीकार गर्ने र पार्टी अध्यक्ष कमरेड ओलीलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टीकरण माग्ने निर्णय गरेको बिषय सार्वजनिक भइसकेको छ’, दाहालले भनेका छन् ।

‘म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पंक्ति र आम–जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकतावद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन’, दाहालले विज्ञप्तिमा भनेका छन् ।

‘नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो’, उनले भनेका छन् ।

‘राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरूका विरुद्ध एकतावद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि म सबैलाई अपील गर्दछु’, विज्ञप्तिमार्फत दाहालले भनेका छन् ।

नेकपा फुटको अन्तिम तयारीमा रहेका बेला दाहालले ओलीसँग स्पष्टीकरण माग गरेको भनेर आफ्ना नेता कार्यकर्ताहरूलाई बचाउन खोजेका छन् ।

Published : Monday, 2020 December 21, 12:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया