ओलीको कदमविरुद्ध कांग्रेसको सतर्कतापूर्ण टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रतिनिधि सभा विघटन गर्न गरिएको सिफारिसलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गरेर भनेका छन्, ‘यो कदम संविधानको अक्षर, मर्म र भावना विपरीत छ ।’ उनले कांग्रेसले यसलाई राजनैतिक रूपमा गम्भीर रुपले प्रतिवाद गर्ने जनाएका छन् ।

‘चुनावको बेला स्थिरताको चर्को नारा दिने अनि आफ्नो पार्टी भित्रको द्वन्द्वको परिणाममा मुलुकलाई अस्थिरता तर्फ पुनः धकेल्न खोज्ने प्रवृत्ति निन्दनीय छ’, कांग्रेसका प्रवक्ता शर्माले भनेका छन् ।

‘जनता कोरोनाको मारमा रहेका बेला सत्ताको जितहारको द्वन्द्व आफैमा लज्जास्पद थियो र छ’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।

‘विघटनको अस्त्रलाई अधिनायक आकांक्षाको अन्तिम प्रयत्नका रूपमा हामीले लिएका छौं र उद्घोष गर्दछौं यो प्रयत्नलाई असफल तुल्याइनेछ’, कांग्रेसले कडा रुपमा चेतावनी दिएको छ ।

‘यस्तो असंवैधानिक र आवेगपूर्ण सिफारिस अस्वीकार गरेर संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न सम्माननीय राष्ट्रपतिलाई अपील गर्दै नेपाली कांग्रेस संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन पार्टीका साथीहरु, सबै राजनीतिक दल, संघ–संस्था र समस्त लोकतन्त्रवादी नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक अपील गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

‘पार्टीले लिने आवश्यक कदम र थप धारणाबारे आजै १ बजे उपत्यकामा उपलब्ध पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाइएको छ’, कांग्रेसका प्रवक्ता शर्माले भनेका छन् ।

Published : Sunday, 2020 December 20, 12:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया