गणेशमान सिंह अस्पतालद्वारा ललितपुरमा कोरोना उपचार र परीक्षण शुरु

लगनखेल । ललितपुरको महालक्ष्मीस्थानमा अवस्थित गणेशमान सिंह अस्पताल एण्ड रिसर्च सेन्टरले कोरोनाको परीक्षण र उपचार शुरु गरेको छ ।

स्व.गणेशमान सिंहको १०६औँ जन्मजयन्तीका अवसरमा कांग्रेस नेता एवम् गणेशमान सिंहका छोरा प्रकाशमान सिंहले सोमबार बिहान अस्पतालमा कोरोना उपचार कक्षको शुरुवात गरेका हुन् ।

अस्पतालले कोरोना कक्षको स्तरउन्नति र जेष्ठ नागरिक स्वास्थ्य उपचार कोष प्रारम्भ गरेको छ ।

अस्पतालले हाललाई २० बेडको उपचार कक्ष तयार गरी उपचार शुरु गरेको छ ।

अस्पतालले सोमबारबाट कोरना उपचार तथा परीक्षण शुरु गरेको जनाएको छ । जेष्ठ नागरिकलाई उपचारमा ५० प्रतिशत छुट दिने निर्णय अस्पतालले गरेको छ ।

कार्यक्रममा नेता सिंहले सरकारले कोरोना संक्रमणको महामारीका बेला पनि औषधि उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोप लगाए ।

उनले लकडाउनका कारण समस्यामा परेका नागरिकहरूलाई निःशुल्क खाना खुवाउँदा पनि सरकारले अवरोध पुर्‍याएको बताए ।

‘कोरोनाको महामारी छ, सरकार न्यूनतम काम समेत हामी गर्न सक्दैनौं भनेर पछि हट्दै गइरहेको छ’, उनले भने, ‘यो संकटको समयमा न्यूनतम कामसमेत सरकारले नगर्दा जनता अत्यन्त दुःखी भएका छन् ।’

प्रतिनिधि सभाका सांसद समेत रहेका कांग्रेस नेता सिंहले अस्पतालाई आफ्नो एक महिना बराबरको तलब दिएका छन् ।

Published : Monday, 2020 November 9, 1:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया