अर्थ मन्त्रीमा क–कसको दाबी ? भट्टको गोजीमा नयाँ मन्त्रीहरूको सूची, पाण्डेले हुन्न भनिदिए

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले अर्थ मन्त्रालय आफूसँगै राखेर पूर्व अर्थमन्त्री डा.युवराज खतिवडालाई निरन्तरता दिन खोजेको संकेत यसअघि नै दिइसकेका छन् ।

ओलीले डा.खतिवडाका लागि अर्थ मन्त्रालय बचाउन सक्ने सम्भावना निकै कम छ ।

डा.खतिवडाका लागि बालुवाटारबाट भइरहेको कसरतलाई नेकपाका बहुमत नेताहरूले मन पराएका छैनन् ।

ओलीका परराष्ट्र मामिला सल्लाहाकार डा.राजन भट्टराईले पूर्व अर्थमन्त्री समेत रहेका सुरेन्द्र पाण्डेलाई अर्थ मन्त्रालयबाहेक अरु मन्त्रालयको मन्त्री बन्न तयार रहन आग्रह गरेको स्रोतले जनाएको छ । तर, पाण्डेले अर्थ मन्त्री बाहेक अरु मन्त्री बन्न आफू इच्छुक नरहेको सन्देश पठाइदिएका छन् । पाण्डेको जवाफले ओलीलाई दवाव बढेको छ ।

केही वर्ष अगाडि माधवकुमार नेपाल नेतृत्वको सरकारका पालामा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका पाण्डेले त्यस बेला राम्रो काम गरेका थिए । उनले मुलुकको अर्थतन्त्रलाई सहि बाटोमा लैजानुका साथै कार्यक्रमहरू पनि राम्रा ल्याएको चर्चा नेकपाभित्र हुने गरेको छ ।

हुन त अर्थ मन्त्री बन्न बालुवाटार जग्गा काण्डमा मुछिएका नेकपाका महासचिव विष्णु पौडेल पनि लागेका छन् । पौडेलले कुनै पनि हालतमा अर्थ मन्त्रालयमा फुत्किन नदिने योजना बनाएको चर्चा नेकपामा छ ।

नेकपाका सांसद एवम् पूर्वमन्त्री जनादर्शन शर्मा पनि अर्थ मन्त्रालय ताकेर बसेका छन् । शमा पटक–पटक मन्त्री बनेका व्यक्ति हन् । उनी गृहमन्त्री भएका बेला कार्यसम्पादन राम्रोसँग गर्न नसकेको भनेर आलोचना भएको थियो ।

हुन त अर्थ मन्त्रालयसहित आकर्षक मन्त्रालयहरूमा आफू निकटका सांसदलाई मन्त्री बनाउन बिचौलियाका आरोप लागेका दीपक भट्ट र उनका दाई सुशील भट्ट लागेको चर्चा छ । यी दुबै दाजुभाइ ओलीका खास मानिन्छन् ।

दीपक भट्टकै सिफारिस र दवावमा ओलीले तीन महिना अगाडि सुशील भट्टलाई लगानी बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए । भट्ट दाजुभाईले मन्त्री बनाउने सूची गोजीमा राखेर हिँड्ने गरेको स्रोतले जनाएको छ ।

Published : Tuesday, 2020 September 29, 9:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया