प्रचण्डका नेता कार्यकर्तालाई कांग्रेसमा स्वागत, रुकुममा नेकपाभित्र भिषण पहिरो

आठविसकोट । तत्कालीन माओवादीको आधार किल्ला रुकुम पश्चिममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

देश र जनताको सेवा गर्न झण्डै दुईतिहाइको बहुमत दिएर पठाइएका कम्युनिस्ट नेताहरू व्यक्तिगत र सत्तास्वार्थमा केन्द्रित भएपछि निराश भएका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशहरू कम्युनिस्टहरूको पछाडि लाग्दा देश र जनताले दुःख पाएको भन्दै नेपाली कांग्रेसमा आबद्ध हुन अपील गरेका छन् ।

आठविसकोट नगरापलिकाको वडा नम्बर ६ मा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका २७ जना स्थानीय नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेकपा छाडेर कांग्रेस प्रवेश गरेकाहरूलाई रुकुम पश्चिम कांग्रेसले उचित स्थान र जिम्मेवारी दिने जनाएको छ ।

माओवादीको कथित जनयुद्धका बेला रुकुम जिल्लालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधार इलाका बनाएका थिए । ‘प्रचण्ड’सहितका ठूला नेताहरू रुकुममा लुकेर बसेका थिए ।

माओवादीको नाममा प्रचण्डसहितका नेताहरूले कथित जनयुद्ध गरेर १७ हजार जनताको ज्यान लिएका थिए । अहिले त्यो माओवादी भन्ने पार्टी नै छैन । प्रचण्डसहितका नेताहरूले एमालेमा बिलय गराएका छन् ।

सत्ता स्वार्थका लागि बालुवाटारमा दिनदिनै विभिन्न खालका बैठक र खिचातानी भइरहेका छन् । शुक्रबार बालुवाटारमा नेकपाको स्थायी समितिको बैठक बसिरहेका बेला प्रचण्डको कुनै बेलाको आधार ईलाकामा नेकपाभित्र पहिरो गएको छ ।

बालुवाटारमा प्रचण्डले नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी पाउँदै गर्दा रुकुम पश्चिममा २७ जना नेता तथा कार्यकर्ताहरूले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।

कथित जनयुद्धका बेला प्रचण्डसहितका नेताहरूलाई संरक्षण दिएका रुकुमेली जनताले कम्युनिस्टहरूको भ्रमको खेती बुझेपछि निरास भएका छन् ।

रुकुम पश्चिममा केही दिन अगाडि पनि नेकपाका नेता तथा कार्यकर्ताहरूले पार्टी छाडेर कांग्रेस प्रवेश गरेका थिए ।

Published : Friday, 2020 September 11, 9:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया