बालुवाटारबाट नेपाल समूह मलिन हुँदै बाहिरियो, ओली–दाहाल मालामाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपाभित्रको विवाद तत्कालका लागि समाधान भएको छ ।

शुक्रबार बालुवाटारमा बसेको स्थायी समितिको बैठकले प्रधानमन्त्री एवम् अध्यक्ष खड्गप्रसाद ओली र दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालद्वारा संयुक्त रुपमा पेस गरिएको प्रस्तावलाई पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले राखेको लिखित सुझावलाई पनि सम्बोधन गरिएको श्रेष्ठले बताए । बैठकमा १३ जना स्थायी समिति सदस्यहरूले धारणा राखेका थिए । धारणा राख्नेहरूमा अधिकांश वरिष्ठ नेता नेपाल पक्षका थिए ।

कमीकमजोरीहरू सच्याउँदै नेकपाले सरकार र पार्टीलाई विधि, पद्धति अगाडि बढाउने निर्णय गरेको छ ।

स्थायी समितिले अध्यक्ष एवम् ओली र अध्यक्ष दाहालको कार्यविभाजन गरेको छ ।

ओलीले सरकारमा केन्द्रित भएर अगाडि बढ्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए । दोस्रो वरीयताका अध्यक्ष दाहालले कार्यकारी अधिकारसहित पार्टीको नेतृत्वको काम गर्ने श्रेष्ठले बताए ।

‘सरकार अब पार्टीको मार्गनिर्देशनमा सञ्चालन हुने । दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने’, प्रवक्ता श्रेष्ठले भने, ‘सरकारले दीर्घकालीन र राष्ट्रिय महत्वको निर्णय गर्दा पार्टीको सुझाव लिने । सचिवालयको परामर्श, दुई अध्यक्षको सहमतिबाट गर्ने निर्णय गरिएका छ ।’

प्रवक्ता श्रेष्ठले भने, ‘सरकारको विधेयकको विषयमा सैद्धान्तिक पक्षका बारेमा पार्टीको केन्द्रीय कमिटी, स्थायी समिति वा सचिवालयमा छलफल गर्ने निष्कर्ष निकालेको छ ।’

नेकपाले पार्टीको महाधिवेशन चैत २५ देखि २९ सम्म ०७७ मा काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
त्यसका लागि कात्तिक १५ देखि १७ सम्म केन्द्रीय कार्यसमितिको बैठक राख्ने निर्णय गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

भारतद्वारा अतिक्रमित भू–भागबाट विदेशी सुरक्षाकर्मी फिर्ता पठाउनुपर्ने निर्णय गर्दै अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी भएकोमा सरकारलाई नेकपाले धन्यावाद दिएको छ । नेकपाले भारतसँग राजनीतिक र कुटनैतिक वार्ताद्वारा हल निकाल्ने आवश्यक्ताको ठहर पनि गरेको छ ।

नेकपाका प्रवक्ता श्रेष्ठले एमसीसीको बारेमा परिमार्जन र संशोधन गरेर अगाडि बढाउने सहमति भएको बताए । त्यसका लागि झलनाथ खनाल नेतृत्वको समितिले दिएको सुझावलाई पनि समेटिने बताए ।

नेकपाको स्थायी समिति बैठकमा दाहाल आफ्नो उदेश्यमा सफल भएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल र बामदेव गौतमलाई उचालेर विवाद खडा गरि पार्टीको एकल अध्यक्ष बन्न सफल भएका छन् ।

गौतमलाई राष्ट्रिय सभाको सांसद बनाउने यसअघि नै निर्णय भइसकेको छ । नेता नेपालले दाहालसँग गम्भीर धोका पाएका छन् । दाहालले नेता नेपाललाई प्रयोग गरेर उदेश्यमा पूरा भएपछि तत्कालका लागि विवाद समाधान भएको देखिए पनि आबका दिनमा झन् विवाद हुन सक्ने चर्चा हुन थालिसकेको छ ।

बालुवाटारबाट ओली र दाहाल तथा उनीहरू निकटका नेताहरू खुसी भएर बाहिरिएका छन् । वरिष्ठ नेता नेपाल र उनी निकटका नेताहरू भने मलिन भएर बाहिरिएको एक नेताले बताए ।

Published : Friday, 2020 September 11, 4:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया