अतिक्रमित भूमि फिर्ताका लागि कांग्रेसले सिकाइदियाे कम्युनिस्ट सरकारलाई जुक्ति
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उच्चस्तरीय कुटनैतिक पहलमार्फत नेपाली भूमिको रक्षा गर्न कम्युनिस्ट सरकारसँग आग्रह गरेको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गरेर कुटनैतिक पहलमार्फत भारतद्वारा अतिक्रमित भूमि फिर्ता ल्याउनुपर्ने बताएका हुन् ।
‘कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका नेपालको भूमिबारे नेपाली कांग्रेसले विगत देखिनै राख्दै आएको प्रष्ट दृष्टिकोणको जगमा फेरि पनि हामी आग्रह गर्न चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ, ‘सरकारले उच्चस्तरीय कुटनैतिक प्रक्रियामार्फत आजको मुद्दा हल गर्न गम्भीर पहलकदमी गर्नुपर्दछ ।’
‘सन् १८१६ को सुगौली सन्धीले नेपालको पश्चिमी सिमाना महाकाली नदी किटान गरेको ऐतिहासिक तथ्यनै विद्यमान प्रकरण समाधानको मुल आधार हो’, विज्ञप्तिमा भनिएको छ, ‘अतः महाकाली नदी पूर्वको भू–भाग कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने र लिपुलेक एवं लिम्पियाधुरासम्मको नेपाली भूमिमा नेपालको अविच्छिन्न अधिकार निर्वाध रहनुपर्ने धारणा आजको मितिमा पुनः दोहोर्याउन चाहन्छौं ।’
‘नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण, नेपालको स्वाधीनतामाथिको ठाडो हस्तक्षेप हामीलाई अस्वीकार्य छ’, प्रवक्ता शर्माले भनेका छन् ।
‘भारतको पिथौरागढ हुँदै नेपालको लिपुलेक भएर चीनको मानसरोवर जोड्ने सडकको पृष्ठभूमिमा सन् २०१५ मे महिनाको भारत–चीन सहमति र कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वको सरकारले त्यो सहमतिप्रति कडा विरोध जनाउँदै दुबै देशलाई पठाएको ‘प्रोटेस्ट नोट’ स्मरण गर्दै यो विषयमा दुबै राष्ट्रसंग नेपालले गहन संवाद गर्न अत्यावश्यक रहेको औंल्याउन चाहन्छौं’, प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘हामी संसारका हरेक मुलुकको सार्वभौमिकताको सम्मान गर्दछौं र नेपालका बारे अरु राष्ट्रसंग पनि त्यही अपेक्षा राख्दछौं’, कांग्रेसले भनेको छ ।
‘अतः दुबै छिमेकी मित्र राष्ट्रसंग प्रष्ट धारणा र ऐतिहासिक तथ्यका आधारमा दीर्घकालीन समाधान नेपालको अहिलेको परिपक्व रणनीति हुनुपर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘सामान्य वक्तव्य वा सामान्य नोट जारी गरेर नेपाल सरकारको दायित्व पूरा हुन्न ।’
‘दीर्घकालीन समाधानका लागि सुस्पष्ट ढंगले उच्चस्तरीय कुटनैतिक पहल गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई फेरि पनि आग्रह गर्दछ’, कांग्रेसले भनेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया