‘ठूल्दाई’ बन्ने भारतलाई साइजमा ल्याउन सांसदहरूले दिए थरिथरिका सुझाव

काठमाडौं । सांसदहरूले लिपुलेक, कालापानी र लिम्पियाधुराको भू–भाग फिर्ता गर्नका लागि भारतसँग कुटनैतिक सम्वाद गर्नुपर्ने सुझाव दिएका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा धारणा राख्ने सांसदहरूले आबेगमा आएरभन्दा भारतसँग कुटनैतिक रुपमा छलफल गरी आफ्नो भूमि फिता गर्नुपर्ने बताएका हुन् ।

बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिपुलेकमा भारतले सडक निर्माण गरेकोबारे तत्काल चीनसँग छलफल गर्न नहुने बताएका छन् । उनले कालापानी र लिपुलेकको विवाद द्विपक्षीय रहेको भन्दै तेस्रो पक्ष आवश्यक नरहेको बताए । उनले नेपाल र भारतबीच सीमा समस्या समाधान गरेपछि चीनसँग छलफल गर्नुपर्ने बताएका हुन् ।
नेपाल र भारतबीच सीमा समस्या समाधान गरेपछि चीनलाई समस्या समाधानमा लाग्नुपर्ने मन्त्री ज्ञवालीले बताए । चीनसँग दुई विषयमा छलफल आवश्यक भएको बताए ।

‘नेपाल, भारत र चीनको बीचमा त्रिदेशीय विन्दु टुंगो भएको थिएन’, ज्ञवालीले भने, ‘शून्य नम्बर पिल्लर टुंग्याउन बाँकी छ । त्यसैले चीनसँग छलफल गर्नुपर्ने हुन्छ । आजको समस्या भारतसँग नै समस्या हो । त्यसपछि त्रिदेशीय बिन्दु कहाँ हो भन्नेबारे छलफल गर्ने हो ।’

ज्ञवालीले चीनसँग दोस्रो छलफलको विषय भने भारत र चीनबीच सन् २०१५ मा भएको सम्झौताबारे रहेको बताए । ‘पहिला भारतसँग कुरा गर्छौं र समस्या समाधान गर्छौं । त्यसपछि चीनसँग वार्ता गर्नुपर्छ’, उनले भने, ‘भारतसँग छिट्टै वार्ता गर्ने भनेको छ ।’

उनले भारतले कोरोनाको संक्रमण सकिएपछि वार्तामा बस्ने भनेको अवस्थामा नेपालले त्यो समय कुर्न नसक्ने बताए ।

‘हामी त्यतिबेलासम्म कुर्न सक्दैनौं, सरकार छिटो वार्ता सुरु गरिनुपर्छ भन्नेमा छ’, ज्ञवालीले भने । सांसदहरूले भिडियो कन्फरेन्समार्फत् भए पनि भारतसँग तत्काल वार्ता गर्न दिएको सुझावमा भने उनले प्रश्न उठाए । उनले भने, ‘मुलुकको सुरक्षाको कुरा छ । डाटा सुरक्षाको कुरा उठ्छ ।’

नेपालले भारतलाई गत नोभेम्बर यता वार्ताका लागि ताकेता गरिरहेको ज्ञवालीले बताए । भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि वार्ताका लागि ताकेता भइरहेको उनले भनेका छन् ।

‘यो विषयमा भोलि फुर्सदमा छलफल गरौंला भन्ने पक्षमा सरकार छैन’, उनले भने, ‘नोभेम्बरयता ताकेता गरिरहेका छौं । हामी त्यै बाटोमा अगाडि बढिरहेका छौं ।’

सरकार सीमाको विषयलाई तत्काल अन्तर्रा्ष्ट्रियकरण गर्ने पक्षमा नरहेको पनि ज्ञवालीको भनाइ थियो । ठूला मुलुकहरूका अन्तर्रा्ष्ट्रिय सम्बन्ध र शक्ति फरक हुने भएकाले दुई पक्षीय वार्ताद्वारा नै समस्या समाधान गर्नुपर्ने उनले बताए । ‘दुई पक्षीय वार्ताको माध्यमबाट नै समस्या समाधान गर्नुपर्छ भन्नेमा सरकार छ । अन्तर्रा्ष्ट्रियकरण गर्ने बेला आयो भने त्यै बेला कुरा गरौंला,’ उनले भनेका छन् ।

सन् २०१५ मा लिपुलेक भएर व्यापार गर्ने चीन र भारतको सम्झौताबारे चीनले आधिकारीक रूपमा प्रतिक्रिया दिएको नभेटिएको मन्त्री ज्ञवालीले बताए । यसअघि चीनले उक्त सम्झौताको २८ नम्बर बुँदामा नेपालले असन्तुष्टि जनाएपछि पछि हटेको भन्ने अभिव्यक्ति सरकारको नेतृत्वले दिँदै आएको थियो ।

मन्त्री ज्ञवालीले भने, ‘चीनको रेस्पोन्स रेकर्डमा भेटिएको छैन । अनौपचारिक कुराकानीमा चिनियाँहरूको रियलाइजेसन भेटिन्छ तर फर्मल डकुमेन्ट छैन ।’

बैठकमा नेकपा सांसद एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भारतसँग सँधै सीमा विवाद भइरहनुभन्दा सीमानामा काँडेतार लगाउन उचित हुने बताएका छन् । उनले नेपालले अब आफ्नो सीमाको नियमन र नियन्त्रणमा जानुपर्ने बेला आएको पनि बताए ।

उनले सबै खालका तथ्य र तर्कका साथ भारत र चीन सरकारसँग कुरा गर्नुपर्ने पनि बताए । चीन सरकारसँग पनि कुरा गर्नुपर्छ । ‘दुवै देशसँग कुरा गरेर सीमाको विवाद सुल्झाउन सरकारले तत्काल प्रयास थाल्नुपर्छ । अनि आफ्नो सीमामा सीमामा भवन निर्माण गर्ने र सुरक्षाकर्मी राख्ने उचित प्रबन्ध गर्नुपर्छ’, उनले भनेका छन् ।

उनले नेपालमा भारतविरोधी भावना बढेकोमा भारतीय शासकहरुमा चिन्ता बढेको देखिने भन्दै नेपालको भूमिमाथि नै दावा गर्ने भारतका कामले यस्तो भएको पनि बताए ।
‘सानो छिमेकी राष्ट्रप्रति भारतको धारणा ठीक छैन कि भन्ने गम्भीर आशंका भएको छ । नेपाल र भारतबीचमा भएका सन्धिलाई भारतले उल्लंघन गरेको छ । नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको छ’, सांसद नेपालले भने ।

उनले नेपालको पश्चिम सीमाना लिम्पियाधुरामा पर्ने भन्दै कालीनदी नै सीमा नदी हो भन्ने नक्सा र तथ्य प्रमाण भएको बताए । ‘लिम्पियाधुराबाट बग्ने काली नै सीमाना नदी हो भन्ने दस्तावेजहरू पनि पर्याप्त छन्’, उनले भने, ‘यो कुरा भारत सरकारले पनि त्यतिबेला स्वीकार गरिसकेको ।’

उनले सरकारले भिडियो कन्फ्रेन्समार्फत् भारतसँग कुरा गर्नुपर्ने पनि बताए । यसमा कोरोना भनेर आलटाल गर्नु नहुने पनि उनले बताए ।

उनले नेपालले आफ्नो सबै भूमि समेटेको नक्सा सार्वजनिक गरिहाल्नु पर्ने पनि बताए । भूमि सुधारमन्त्री पद्मा अर्यालले दुई सय वर्षदेखि लिपुलेक क्षेत्र नेपालको नक्सामा छैन भन्ने अभिव्यक्ति दिएको आफूले सुनेको भन्दै उनले यो कुरा गलत भएको पनि बताए । आफ्नै पार्टीकी मन्त्रीको अभिव्यक्तिबारे उनले भने, ‘मन्त्रीले यस्तो कुरा बोलेको हो भने सरकारलाई विवादित बनाउने अभिव्यक्ति दिनु हुन्न । बोलेको होइन भने खण्डन दिनुपर्छ । र नक्सा तत्काल सार्वजनिक गर्नुपर्छ ।’

नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले भारतसँग वार्ता गर्नका लागि संसदीय समितिले वार्ता टोली बनाउनुपर्ने प्रस्ताव गरेकी छिन् ।

सांसद कोइरालाले कुटनैतिक पहलबाट नेपाल–भारतबीच रहेको सीमा विवाद मिलाउनुपर्ने बताइन् । उनले कालापानी, लिपुलेकसहित लिम्पियाधुराका बारेमा भारतसँग वार्ता गर्नका लागि आफ्नो नेतृत्वमा वार्ता टोली गठन गर्न सुझाव दिइन् । उनले भनिन्, ‘वार्ता टोलीको जिम्मेवारी दिने हो भने मैले भारतसँग कुरा गर्न सक्छु । कुरा पनि मिलाउन सक्नु होला । चीनसँग पनि कुरा गर्नुपर्छ ।’

गठन गरिने वार्ता टोलीमा सबै दलका प्रतिनिधि हुने उनले बताएकी छिन् । कांग्रेस नेतृ कोइरालाले आफूले बोल्दै नबोलेका कुरालाई सञ्चारमाध्यमले लेखेको भनेर असन्तुष्टि जनाइन् ।
केही संचारमाध्यममा आफूले कालापानी भारतलाई दिनुपर्छ भनेको समाचार आएको भन्दै उनले ६ महिना अगाडि भारतलाई कालापानी पाँच वर्षका लागि भाडामा दिनुपर्छ भनेको भएपनि अब सो प्रस्तावको औचित्य सकिएको बताइन् ।

सांसद कोइरालाले नेताहरूबाट चर्को राष्ट्रवादी भाषण मात्र हुने गरेको तर समाधानको उपाय कसैले नदिने गरेको बताइन् । उनले पारवहनका लागि नेपालले भारतको सट्टा बंगलादेशलाई विकल्पका रुपमा हेर्नुपर्ने पनि बताइन् ।

नेकपाका सांसद भीम रावलले भारतले सार्वभौम मुलुकमाथि मिचाहा प्रवृत्ति देखाएको बताए । उनले भने, ‘भारतले नेपालको छ सय किलोमिटर सिमानामा विवाद निकालेको छ । उसले नेपाललाई सधैँ दवावमा राख्न चाहन्छ ।’

काली नदी नेपालको सिमाना रहेको भन्दै उनले काली नदीको पूर्वतिरको सबै भाग नेपालको रहेको बताए । भारतको यो अभियानमा चीनले साथ दिएको भन्दै रावलले चीनसँग पनि कुटनीतिक वार्ता गर्नुपर्ने बताए । उनले भारतसँग छिटोभन्दा छिटो कुटनैतिक तरिकाले वार्ता गरेर आफ्नो जमीन फिर्ता गर्नुपर्ने बताएका छन् । भारत जत्तिकै नेपालसँग शक्ति नभएपनि भारतको भन्दा कमजोर राष्ट्रियता नेपालीको नरहेको बताए ।

उनले कालापानी, लिपुलेक, लिम्पियाधुरा राखेर नेपालको नक्सा जारी गर्न आग्रह गरे । उनले भारतसँग झगडा गर्नेभन्दा पनि कानून र प्रमाणका आधारमा कटनैतिक रुपमा सम्वाद गरेर आफ्नो भूमि फिर्ता ल्याउन आग्रह गरे । ‘हामी चीन र भारतको विरोधी होइनौं’, उनले भने, ‘हाम्रो भूमि दुबै छिमेकी देशले मिच्न पाउँदैनन् ।’

नेकपाकी सांसद चाँद ताराले नेपालको नयाँ नक्सा जारी गर्न माग गरिन् । उनले राष्ट्रियताका कारण सरकारले बहुत पाएकोले समितिको निर्देशन पालना गरेर नयाँ नक्सा जारी गर्नुपर्ने बताइन् ।

समाजवादी पार्टीकी सांसद रेणुका गुरुङले भारतसामु नेपाल सरकार निरिह बनेको आरोप लगाइन् । उनले भारतले नेपाली भूमिका सकडक बनाउँदासम्म सरकारले के हेरेर बसेको थियो भनेर विरोध गरिन् । उनले भारले सहि ईमान्दारिताका साथ नेपाली भूमि फिर्ता गर्दैन भने यो विषयलाई अन्तर्राष्ट्रिय करण गर्दै सिमानामा काँडेतार र पर्खाल लगाउनुपर्ने बताइन् ।

नेपाली कांग्रेसका सांसद डा.नारायण खड्काल भारतसँग झगडा गरेरभन्दा पनि कुटनीतिक रुपमा वार्ता गरेर समस्याको समाधान खोज्नुपर्ने बताए । उनले सरकारलाई भारतसँग वार्ता गर्न सुझाव दिए । साथै खड्काले चीनसँग पनि कुरा गर्नुपर्ने बताए । लिपुलेकमा चीन र भारतको स्वार्थ रहेको बताए । भारले नेपाललाई चिड्याउन नहुने उनले बताए । उनले भने, ‘नाथलामा चीनसँग भारतको के भएको छ ? त्यसको पाठ सिकेर नेपालको भूमि फिर्ता गर्नुपर्छ ।’ उनले अहिले नै यो विवादलाई अन्तर्राष्ट्रियकरण गर्नेभन्दा पनि दुई देश मिलेर समाधान खोज्नुपर्ने बताए ।

नेकपाका सांसद नारदमुनि राना थारुले राष्ट्रवादी छवि बनाएको ओली सरकार भारतसँग झुक्न नहुने बताए । उनले भारतले नेपालमाथि ठूलो अन्याय गरेको बताए । नेपाल–भारत सिमानामा काँडेतार लगाउन माग गरे ।

सांसद सरलाकुमारी यादवले भारतले रौतहट जिल्लामा पनि दशगजा क्षेत्रमा लकडाउनको मौका छोपेर बाँध बाँधेको बताइन् । उनले भारतको मिचाहा प्रवृत्तिको अन्त्य हुनै पर्ने बताइन् । नेपालमाथि भारतले दादागिरि देखाइरहेको बताइन् । नेपालको नयाँ नक्सा जारी गर्न नसकेर नेता र सरकार लाचार बनेको उनले बताइन् ।

नेकपाका सांसद सुरेन्द्रकुमार कार्की (राम कार्की)ले बंगलादेश सानो देश भएपनि सीमा विवाद हुँदा भारतका थुप्रै सुरक्षाकर्मीलाई गोली हानेर मारिदिएको प्रशंग कोट्याउँदै भारतले नेपाललाई हेप्न नहुने बताए । उनले भने, ‘भारतले नेपाली भूमिमा सडक बनाएको छ भने नेपालले त्यसलाई प्रयोग गर्न दिन सक्ने तर, प्रवेश गर्ने र अन्त्य हुने ठाउँमा नेपालसँग अनुमति लिनुपर्ने हुन्छ । यो कुरालाई सम्वादबाट समाधान गर्न सकिन्छ ।’ उनले चीन र भारत दुबैसँग वार्ता गर्नुपर्ने बताए । उनले सिमानालाई काँडेतार लगाउनुपर्ने बेला भएको बताए । कालापानीको बाटो भारतले प्रयोग गर्छ भने नेपाललाई बंगलादेशको फूलबारी मार्ग प्रयोग गर्न दिनुपर्ने उनले बताए ।

नेकपाकी सांसद सुजिता शाक्यले भारतको अतिक्रमण स्वीकार्य नरहेको बताइन् । उनले नेपाल–भारत सिमानामा काँडेतार र पर्खाल लगाउन आवश्यक रहेको बताइन् ।

भूमिसुधार तथा सहकारीमन्त्री पदमा अर्यालले लिम्पियाधुरा नेपालको होइन भनेर आफूले नभनेको दाबी गरिन् । उनले ०३२ सालको चलनचल्तीको नक्सामा मात्रै लिम्पियाधुरा छैन भनेको बताइन् । उनले नयाँ नक्सा जारी नहुनुमा केही तयारी नपुगेर भएको बताउँदै प्रमाण जुटाउने कार्य भएको बताइन् । मन्त्री अर्यालले भनिन्, ‘नयाँ नक्सा प्रकाशित गर्न केही ढिलाइ भएको थियो । सबै तयारी पूरा भएको छ । नयाँ नक्सा जारी हुन्छ ।’

बैठकमा सभापति पवित्रा निरौला खरेलले भारतले नयाँ नक्सा जारी गरेपछि नेपालले पनि नयाँ नक्सा जारी गर्न समितिले दिएको निर्देशनलाई सरकारले उल्लंघन गरेको भन्दै आक्रोश पोखिन् ।

Published : Monday, 2020 May 11, 1:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया