कांग्रेसले विज्ञ समूह बनाएर काम गर्ने, कोरोना रोकथाममा सरकारकाे तयारी पुगेन
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कोरोनाको जोखिम सामना गर्न हालसम्म गरिएका तयारीको समीक्षा गरेको छ ।
काठमाडौंको बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा मंगलबार बसेको पदाधिकारी बैठकले सरकारले समय पर्याप्त पाएर पनि पर्याप्त तयारी नगरिनुलाई अत्यन्तै दुःखद् रूपमा लिएको जनाएको छ ।
‘संक्रमण दोस्रो चरणमा प्रवेश गरेको स्थितिलाई गम्भीरतापूर्वक लिएर परीक्षणको दायरा तत्काल व्यापक रुपले बढाएर युद्धस्तरमा कार्य गर्न सरकारलाई अपील गरेको छ’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले संकटबाट नेपाल र नेपालीलाई जोगाउन नेपाल सरकारलाई हरसम्भव सघाउने निर्णय गरेको छ ।
स्वास्थकर्मीहरूको उच्च मानवीय भावना र समर्पणले कोरोना भाइरसको संक्रमणविरुद्धको संघर्षमा सफलता मिल्ने विश्वास लिएको भन्दै कांग्रेसले देशभरिका स्वास्थकर्र्मीहरूप्रति उच्च सम्मान प्रकट गरेको जनाएको छ ।
‘पीपीई, परीक्षण कीट र भेन्टिलेटर लगायत अत्यावश्यक सामग्री अझैसम्म नपुग्दा परेको मनोवैज्ञानिक तनाव तत्काल अन्त्य गर्न यथाशीघ्र ती सामग्रीको बन्दोबस्त गर्न बैठकले सरकारलाई अपील गरेको छ’, कांग्रेसले भनेको छ ।
अहोरात्र कार्य गरिरहेका सुरक्षाकर्मी एवम् निरन्तर सुसूचित गरिरहेका संचारकर्मीहरूलाई संक्रमणको जोखिमबाट सुरक्षित राख्ने अत्यावश्यक प्रबन्ध मिलाउनपनि कांग्रेसले सरकारसँग माग गरेको छ ।
लक डाउन पालना गर्दै संयम, एकता र उच्च सतर्कता राख्न कांग्रेसले सबै नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक अपील गरेको छ ।
देश बाहिर अप्ठ्यारोमा परेर घर फर्कन चाहेका र सिमानामै आइपुगेर प्रवेश चाहिरहेका नेपालीलाई ब्यवस्थित रुपले क्वारेन्टाइनमा राख्ने तयारी गरेर देश भित्रिन दिने ब्यवस्था मिलाउन कांग्रेसले सरकार समक्ष माग गरेको छ ।
ज्यालादारी श्रमिकहरू धेरैकोमा अझ पनि राहत नपुग्दा जीवन कष्टकर बनेको ध्यानाकर्षण सरकारलाई गराउँदै बेरोजगार र शहरी क्षेत्रमा डेरा गरि बसेका विद्यार्थी का लागि पनि तत्काल राहत घोषणा गर्न कांग्रेसले माग गरेको छ ।
कांग्रेसले साना ठूला सबै ब्यवसायीको ब्यवसायमा लक डाउनले पुर्याएको असर दृष्टिगत गरेर थप राहतको प्याकेज ब्यवहारिक ढंगले ल्याउन माग गरेको छ ।
अत्यावश्यक खाद्यान्नको आपूर्ति देखि उत्पादनसम्मको ब्यवस्थालाई जोखिममुक्त ढंगले सहजीकरण गराउन कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।
लक डाउनले गर्दा कृषि क्षेत्र र किसानलाई परेको मर्कामा आवश्यक राहत घोषणा गर्न कांग्रेसले सरकार समक्ष माग गरेको छ ।
बैठकले आ–आफ्नो प्रदेशमा विशेष समन्वयको भूमिका बढाउन प्रदेश सरकारहरूलाई एवं वडा र टोलसम्म जनसम्पर्कमा पुगेर हरतरहले नागरिक पंक्तिलाई यो संकटमा सहयोग पुर्याउन स्थानीय सरकारहरूलाई अपील गरेको कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।
बिदेशमा रहेका सबै नेपालीको स्थितिप्रति चिन्ता व्यक्त गर्दै कांग्रेसको पदाधिकारी बैठकले विशेष ध्यान पुर्याउन सरकारलाई आग्रह गरेको छ ।
बेलायत र अमेरिकामा कोरोना संक्रमणले मृत्यु भएका नेपालीहरूको परिवारजनप्रति समवेदना व्यक्त गर्दै पदाधिकारी बैठकले नेपाली डायस्पोरालाई आपसी एकता र भाइचाराको भावनाले आजको संकट सामना गर्न अपील गरेको छ ।
विश्वभरिनै कोरोनाले गर्दा जीवन गुमाएका हजारौं मानिसप्रति कांग्रेसको पदाधिकारी बैठकले श्रद्धाञ्जलि व्यक्त गरेको छ ।
प्रतिकूल स्थितिमा एकता र सतर्कताका साथ मानवीय सेवाको उच्च भावनाले निरन्तर कार्य गर्न कांग्रेसले देशभरिका पार्टी सदस्य र शुभचिन्तक एवं विदेशस्थित नेपाली जनसम्पर्क समितिमा रहेका सबैलाई अपील गरेको छ ।
कोरोनाको जोखिमसँग जुध्न बैठकले एक विज्ञ समूह निर्माण गरेर निरन्तर समूहको परामर्शमा कार्य गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।
पार्टीका सबै केन्द्रीय सदस्य, संघीय र प्रदेश सांसदहरु एवं सबै तहको नेतृत्वलाई आफ्नो जिम्मेवारीको क्षेत्रमा विशेष रुपले कार्य गर्न बैठकले निर्देशन गरेको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया