चीनलाई अर्को झट्का, नेदरल्याण्डसले छ लाख मास्क फिर्ता गरिदियो

काठमाडौं । गुणस्तर मापदण्ड पूरा गर्न नसकेपछि नेदरल्याण्डस सरकारले आफ्ना अस्पतालहरूबाट चीनमा उत्पादित करीब ६ लाख मास्कहरू फिर्ता मागेको छ ।

स्थानीय सञ्चारमाध्यमहरूका अुनसार ती मास्कहरू चीनबाट आयात गरी कोभिड–१९ महामारीलाई नियन्त्रण गर्न नेदरल्याडसका अस्पतालहरूमा पठाइएको थियो । अहिले ती मास्कहरू फिर्ता लिने निर्णय गरिएको छ ।

नेदरल्याडसले २१ मार्चमा चिनियाँ निर्माताबाट मास्क आयात गरेको थियो । चिनियाँ निमार्ताबाट एफएफपी २ श्रेणीका मास्कहरूको अर्डर दिइएको थियो ।

जसले हावामा रहेको ९४ प्रतिशत ठोस र तरल कण फिल्टर गर्नुपर्दछ । चीनबाट पठाइएको मास्कको गुणस्तर मापन गर्नेे क्रममा ती मास्कहरूको त्यस स्तरमा कणहरूको फिल्टर गर्न नसकेको पाइएपछि नेदरल्याडसको सरकारले माक्सहरू कोभिड–१९ को संक्रमण सार्न सक्ने कणहरूको फिल्टर गर्न नसक्ने भन्दै अस्पतालहरूबाट फिर्ता मागेको छ ।

नेदरल्याड्समा १८०० भन्दा बढी कोरोनाभाइरसका संक्रमित छन् । यसबाट ६०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

यसरी चीनबाट आयातित मेडिकस सामाग्रीमा खोट देखिएको नेदरल्यान्डस तेश्रो मुलुक हो । चिनियाँ किटहरू ३० प्रतिशत बिरामीको मात्रै सही पहिचान गर्न सकेको र संक्रमितमध्ये ७० प्रतिशत व्यक्तिमा संक्रमण पत्ता लगाउन नसकेको भन्दै स्पेनले चिनियाँ किटको प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।

स्पेन आयात गरिसकेको किटहरू फिर्ता पठाउने निर्णय समेत गरिसकेको छ । यसअघि चीनले चेक रिपब्लिकमा पठाएको किटहरुले पनि सही नतिजा नदिएको पाइएको थियो ।

विश्वसनीयतामा प्रश्न उठेपछि नेपाल ल्याउन लागिएको चीनमा उत्पादित कोभिड–१९ परीक्षण किट हिजैमात्र बाटैमा रोकिएको थियो ।

गत बुधबार बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले २ हजार जनालाई कोरोना भाईरसको परीक्षण गर्न मिल्ने किट नेपाली दूतावासलाई उपलब्ध गराएको थियो ।

सो किटहरू आइतबार काठमाडौं आइपुग्ने तोकिएको थियो । शनिबार तिब्बतको ल्हासामा मै रोकिएको छ ।

चीनको नेशनल मेडिकल प्रोडक्सन एडमिनिस्ट्रेसनले उक्त किटहरू निर्यातयोग्य नरहेको भन्दै ल्हासामै रोकिदिएको थियो ।

हवाईमार्गबाट आइतबार मात्रै चीनमा कोभिड–१९ सम्बन्धि मेडिकल सामग्रीहरू आयात गरिएको छ । सरकारले उक्त सामग्री छिट्टै वितरण गर्ने तयारी गरिएको छ ।

Published : Sunday, 2020 March 29, 9:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया