शहीद लखन गाउँपालिका ७ का वडाध्यक्ष जनचेताना जगाउन आफै सक्रिय, मास्क उत्पादन गर्दै
काठमाडौं । गोरखा जिल्लाको शहीद लखन गाउँपालिका वडा नं. ७ बुङकोटले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि जनचेतनाका कार्यक्रमहरू सञ्चालन गरेको छ ।
नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शरण श्रेष्ठले आफ्नो वडाका सर्वसाधारणहरूलाई कोरोना भाइरसका विषयमा सचेतना अभियान चलाएका हुन् । उनले नेपाल सरकारको निर्णयअनुसार आफ्नो वडाका जनतालाई सुरक्षित बनाउने अभियान नै चलाएका छन् ।
वडा कार्यलयको बैठक राखेर वडाध्यक्ष श्रेष्ठले कोरोना भाइरससम्बन्धी वडा स्थानीय समन्वय समिति गठन गरेका छन् ।
कोरोना भाइरससम्बन्धी वडाभित्रको जनप्रतिनिधी, सरकारी कार्यलय, बुङकोट स्वाथ्य चौकी, विद्यालय महिला स्वयमसेविका, राजनीति दल, टोल सुधार, संघ–संस्था सबै मिलेर यस रोगको नियन्त्रणका लागि जनचेतना मूल कार्यक्रम सञ्चाल गर्ने, सूचना प्रवाह गराउँने र वडाबासीहरूलाई सचेत र सजग रहनका लागि अनुरोध गर्ने निर्णय गरेका छन् ।
यसैबीच, शहीद लखन गाउँपालिकाले विद्यार्थीलाई वितरण गर्नका लागि आफैं मास्क उत्पादन थालेको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा वडा नम्वर ७ र ८ बुंकोटका महिलाहरूले मास्क उत्पादन थालेका हुन् ।
माध्यमिक शिक्षा परीक्षा एसईई दिने विद्यार्थीलाई वितरण गर्ने उदेश्यले मास्क उत्पादन गरिएको गाउँपालिका अध्यक्ष रमेश थापा मगरले जानकारी दिएका छन् ।
गाउँपालिकाको वडा नम्वर ७ र ८ को आयोजना तथा बुंकोट प्रगतिशील बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा चलिरहेको सिलाई बुनाई तालिममा सहभागी महिलाहरूले मास्क उत्पादन गरिरहेका अध्यक्ष थापाले बताए ।
बजारमा मास्कको अभाव भैरहेको अवस्थामा स्वाबलम्बन बन्ने प्रयास स्वरुप पनि मास्क उत्पादन थालिएको गाउँपालिकाले जनाएको छ ।
एसईई दिने विद्यार्थीका लागि कम्तिमा १५ सय थान मास्क उत्पादन गर्ने लक्ष्य रहेको छ ।
उत्पादित मास्क एसईई परीक्षा केन्द्रमा स्थापना हुने हेल्थ डेस्कमार्फत विद्यार्थीलाई वितरण गरिनेछ ।
शहीद लखन गाउँपालिकामा एसईईका लागि शहीद स्मृति मावि बुंकोट, भगवती हिमालय मावि घैरुङ र मनकामना माविमा परीक्षा केन्द्र तोकिएको छ । तीनवटै केन्द्रमा स्थानीय स्वास्थ्य संस्थाले हेल्थ डेस्क स्थापना गर्नेछन् ।
मास्क उत्पादनका लागि गाउँपालिकाको महामारी नियन्त्रण शीर्षकको १ लाख बजेट खर्च हुने अध्यक्ष थापाले जानकारी दिए ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया