खोटाङका विद्यालयमा चर्को शुल्क नलिन नेविसंघको आग्रह

दिक्तेल । नेपाल विद्यार्थी संघ (नेविसंघ) खोटाङले परीक्षा शुल्कको बहानामा विद्यार्थीबाट चर्को शुल्क लिएको भन्दै जिल्लाभरिका स्थानीय तहका प्रमुखहरूलाई ज्ञापन पत्र बुझाएको छ ।

खोटाङका सामुदायिक विद्यालयहरूले परीक्षा शुल्कको बहानामा विद्यार्थीबाट चर्को शुल्क लिई संविधान उल्लंघन गरेको भन्दै नेविसंघले सचेत गराउँदै ज्ञापन पत्र बुझाएको हो । नेविसंघले विद्यार्थीसँग लिइएको शुल्क फिर्ता गर्न माग गरेको छ ।

राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य निःशुल्क एवम् माध्यमिक तहसम्मको शिक्षा निःशुल्क किटान गरेको भएपनि सामुदायिक विद्यालयहरूले कक्षा १ देखि कक्षा ९ सम्मको वार्षिक परीक्षा लगायत विभिन्न बहानामा विद्यार्थीबाट जथाभावी शुल्क उठाइएको भेटिएपछि तत्काल विद्यार्थीबाट असुल गरिएको रकम तत्काल फिर्ता गराउन नेविसंघले दवाव दिएको छ ।

जिल्लाका १० स्थानीय तह र विद्यालय प्रशासनलाई आग्रह गर्दै ज्ञापन पत्र बुझाइएको नेविसंघ खोटाङका अध्यक्ष राजकुमार बस्नेतले जानकारी दिए ।

संविधानमा उल्लेख भएअनुसार विद्यालयहरूको व्यवस्थापन र विधार्थीको अधिकारको रक्षा गरी पूर्णरुपमा संविधानको कार्यान्वयन गर्न, गराउन माग गरिएको अध्यक्ष बस्नेतले बताएका छन् ।

नेविसंघको यस अभियानलाई बेवास्ता गर्दै आगामी शैक्षिक सत्रहरूमा पनि विद्यार्थीबाट विभिन्न बहानामा शुल्क अशुल्ने कार्य भयो भने नेविसंघले कडा कदम चाल्ने अध्यक्ष बस्नेतले चेतावनी दिएका छन् ।

Published : Wednesday, 2020 March 18, 4:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया