दार्चुलाको मालिकार्जुनको भवन भारतले आनुदानमा बनाइदिने
प्रकाश चन्द्र भट्ट
दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ७ धापमा रहेको मालिकार्जुन माध्यमिक विद्यालयको भवन निर्माणका लागि भारत सरकारले अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नेपालस्थित भारतीय राजदूतावास र महाकाली नगरपालिकाका प्रमुखले सोमबार अनुदान सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
विद्यालयको भवन निर्माणका लागि महाकाली नगरपालिका प्रमुख हंसराज भट्ट, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रेशम कँडेल, र भारतीय दूतावासका काउन्सलर प्रफुल्लचन्द्र शर्माको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको नगर प्रमुख भट्टले जानकारी दिए ।
२०७३ सालमा तत्कालीन भारतीय राजदूत रन्जित रेको दार्चुला भ्रमणका बेला नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू र भारतीय राजदूतावासले संयुक्त अनुगमन गरी प्रक्रिया शुरु भएको थियो ।
उक्त प्रक्रियाका लागि महाकाली नगरपालिकाले विभिन्न समयमा पत्राचार गर्दै आइरहेको नगरप्रमुख हंसराज भट्टको भनाइ छ ।
महाकाली नगरपालिका ७ धापस्थित मालिकार्जुन नमुना माविको विद्यालय भवन निर्माणको लागि कुल ३ करोड ५५ लाख ६७ हजार १५५ रुपियाँ लागतमा सम्झौंता भएको छ ।
जसअनुसार भारतीय राजदूतावासले कुल २ करोड ९६ लाख ३९ हजार २९६ रुपियाँ रकम व्यवहोर्ने सम्झौता पत्रमा उल्लेख छ ।
कुल लागतको २० प्रतिशत रकम अर्थात ५९ लाख २७ हजार ८६० रुपियाँ महाकाली नगरपालिकाले व्यहोर्नेछ ।
भारत–नेपाल विकास साझेदारी कार्यक्रमअन्तर्गत निर्माण हुने यो विद्यालय भवन महाकाली नगरपालिकाले बोलपत्र आह्वान गरी सकेपछि ठेक्का सम्झौता हुने उनले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया