क्वारेन्टाइनबारे मन्त्रीको अभिव्यक्ति ठीक छैनः तरुण उपाध्यक्ष

काठमाडौं । नेपाल तरुण दलले कम्युनिस्ट सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले बुधबार रिपब्लिका दैनिकसँग कुरा गर्दै जिम्मेवार पदमा बसेको व्यक्तिले जिम्मेवारीअनुसारको काम र व्यवहार गर्नुपर्ने बताए । चापागाइँले कम्युनिस्ट सरकारलाई जनताको स्वास्थ्यमा गम्भीर बन्न सचेत गराएका छन् ।

स्वास्थ्य मन्त्री ढकालले मंगलबार कोरोना भाइसरको संक्रमणको आशंका रहेका व्यक्तिलाई सरकारले क्वारेन्टाइनमा राख्न नसक्ने ती व्यक्तिहरूले आफ्नै खर्चमा क्वारेन्टाइनमा बस्नुपर्ने बताएका थिए । मन्त्रीको यो अभिव्यक्तिको सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।

मन्त्री ढकालको सो अभिव्यक्तिसँग भड्किएको तरुण दलले कम्युनिस्ट सरकारलाई कोरोना भाइरसबाट सर्वसाधारण जनता त्रसित भइरहेका बेला यस्ता गैह्रजिम्मेवारीपूर्ण अभिव्यक्ति दिँदा त्यसले झन् तनाब बढाउने जनाएको हो ।

उपाध्यक्ष चापागाइँले विश्वभरि कोरोना भाइरसका कारण सर्वसाधारणहरू त्रसित बनेका बेला नेपाल सरकारले आफूलाई पन्छाउन खोज्ने हर्कत उचित नभएको बताए ।

‘सबै नागरिकको स्वास्थ्य र सुरक्षाको जिम्मेवारी सरकारले लिनुपर्छ’, उनले चेतावनी शैलीमा भने, ‘विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई उच्च जोखिममा राखेका बेला सरकारको जिम्मेवार मन्त्रीले नागरिकहरूले आफै उपचार गर भनेर भन्नु उचित होइन । यस्ता अभिव्यक्ति फिर्ता लिनुपर्छ ।’

उपाध्यक्ष चापागाइँले सरकारले सबै नागरिकको सहयोग र सल्लाहमा कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सबै उपाय अपनाउनुपर्ने बताए । त्यसका लागि सहयोग गर्न अग्रपंक्ति देशभरिका युवा तरुणहरू तयार रहेको उनले बताएका छन् ।

Published : Wednesday, 2020 March 11, 11:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया