विधि र विधान मान्ने हो भने कांग्रेसको विवाद अन्त्य हुन्छः डा.कोइराला

सिरहा । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले केन्द्रीय सदस्य मनोनीत र विभागहरू गठन गरिएको विषयमा आपत्ति जनाएका छन् ।

सिरहा जिल्लाको लहानमा शनिबार जीपी फाउण्डेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा.कोइरालाले पार्टीको विधान विपरित सभापति शेरबहादुर देउवाले पार्टीलाई चलाएको आरोप लगाए । उनले पार्टीलाई विधि र विधानले चलाउनुपर्ने बताए ।

डा.कोइरालाले पार्टीभित्रको विवाद धेरै ठूलो नरहेको बताए । ‘पार्टीभित्रको विवाद भनेको सहमति, सहकार्यको हो । पार्टी नेतृत्व अल्मलिएको छ’, उनले भने, ‘विवाद भनेको विधि विधानमा टेकेर हिडौँ भन्ने मात्रै हो । महाविधेशनको कार्यतालिका आइसक्यो । यस्तो अवस्थामा पार्टीलाई एकलौटी रुपमा चलाउन खोज्नु हुँदैन ।’

भागबण्डाको राजनीति आफूलाई नचाहिएको नेता डा.कोइरालाले बताए । ‘महाधिवेशनमा पार्टी गइसकेको अवस्थामा विभागहरू गठन भएका छन् । केन्द्रीय सदस्य थपिएको छ’, उनले भने, ‘थपिएको विषयमा मलाई भन्नु केही छैन । तर अहिले गर्नु हुनुहुन्थ्यो कि हुँदैन थियो मेरो प्रश्न मात्रै हो । त्यो थप्दा कसलाई के हुन्छ ?’

नेता डा.कोइरालाले कांग्रेस कमजोर नभएको बताएका छन् । ‘कांग्रेस कमजोर भएको छैन । हाम्रो मनस्थिति कमजोर छ । कांग्रेस काठमाडौंमा छैन । कांग्रेस गाउँमा बसेको छ । गाउँ र जिल्लाका साथीहरूले कांग्रेसलाई बचाएका छन्’, उनले भनेका छन् ।

‘हामीमा राजनीतिक संस्कारको खडेरी परेको छ’, डा.कोइरालाले भनेका छन्, ‘पार्टीभित्र नैतिकता नहुँदासम्म हामी कमजोर रहन्छौँ ।’

‘कम्युनिस्टहरूले भ्रष्टाचार गरेर पैसा कमाएको छ । अधिनायकवादी कम्युनिस्टसँग लड्नु परेको छ’, उनले भने, ‘युवाहरूलाई कांग्रेसमा ल्याउनुपर्छ । त्यसपछि मात्रै कम्युनिस्टसँग प्रतिस्पर्धा गर्न सक्छौं । पैसाले कांग्रेसले लड्न सक्दैन । २० देखि ४० वर्षका व्यक्तिलाई कांग्रेसमा कसरी ल्याउने त्यसमा सोँच्नुपर्छ । ढिलाइ गर्नु हुँदैन ।’

कांग्रेसका केन्द्रीय सदस्य डा.कोइरालाले रसुवा जिल्लामा कांग्रेसभित्र अनौठो विवाद देखिएको भन्दै चिन्ता व्यक्त गरे ।

‘रसुवा जिल्लामा कांग्रेसका करीव १२ सय क्रियाशील सदस्य छन् । नयाँ शक्ति पार्टी २४ सय छन्’, उनले भने, ‘नयाँ शक्ति पार्टी कांग्रेसमा प्रवेश गरेको थियो । समायोजन गर्नुपर्छ । कांग्रेसमा नयाँ शक्ति आउने हो कि नयाँ शक्तिमा कांग्रेस ?’

नेता डा.कोइरालाले मधेस र मधेसी जनताको आन्दोलनले संघीयता आएको बताए । ‘संघीयता धरापमा परेको छ । संघीयता भनेको लोकतन्त्रमा मात्रै फस्टाउँछ’, उनले भने, ‘कम्युनिस्टहरू जनवादी केन्द्रीयतामा विश्वास गर्छन् । सबै शक्ति एउटा व्यक्तिमा हुन्छ । त्यसलाई जनवादी केन्द्रीयता भनछन् ।

कम्युनिस्ट सरकारले संघीयतालाई असफल बनाउन लागेको डा.कोइरालाले बताए । ‘संविधानले दिएको अधिकार संघीय सरकारले प्रदेश सरकारलाई दिन मानेको छैन’, उनले भने, ‘कम्युनिस्ट शासनमा संघीयता भयो भने पनि त्यो कागजको खोस्टा हुन्छ ।’

‘शिक्षकको सरुवा केन्द्रले गर्छ । प्रदेशले गर्नुपर्ने थियो । संविधानले अधिकार दिएको छ’, डा.कोइरालाले भने, ‘वित्त आयोग हुन्छ । दुई वर्ष भइसक्यो वित्त आयोगले पूर्णता पाउन सकेको छैन ।’

‘सबै जिल्लामा कम्युनिस्ट समर्थक सिडिओ छन् । त्यसलाई हामीले अन्यथा लिनुपर्दैन । सिडिओलाई अधिकारलाई धेरै दिएर विधेयक आउँदै छ’, उनले भने, ‘कम्युनिस्टहरू संघीयतामा विश्वास गर्दैनन् ।’

डा.कोइरालाले कम्युनिस्ट सरकार असफल भइसकेको बताएका छन् । ‘यो सरकार असफल भइसकेको छ । भ्रष्टाचारको दलदलमा सरकार फसेको छ’, उनले भने, ‘सुनकाण्ड, वाइडबडी, फोरजी, एनसेल राजश्व छली, चिनी काण्ड, बालुवाटार काण्ड, सेक्युरिटी प्रिन्टिङको अडियो नै आइसक्यो ।’

‘छ महिनामा खर्च गर्नुपर्ने बजेट १९ प्रतिशत मात्रै खर्च भएको छ । प्रदेशले गर्ने खर्च जम्मा ७–८ प्रतिशत खर्च भएको छ’, उनले भने, ‘प्रदेश २ मा ३–४ प्रतिशत मात्रै बजेट खर्च भएको छ । लगानी बढेको छैन ।’

Published : Saturday, 2020 March 7, 6:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया