कास्की कांग्रेसमा दुइटा दल समायोजन, नेताहरूले पाए जिम्मेवारी
पोखरा । नेपाली कांग्रेस कास्कीको प्रवक्तामा नवीन सिग्देल मनोनीत भएका छन् । कास्की कांग्रेसको शुक्रबार बसेको बैठकले जिल्ला सदस्य सिग्देललाई प्रवक्तामा मनोनयन गरेको हो ।
सिग्देल २ दशकदेखि निरन्तर कांग्रेसको राजनीतिमा सक्रिय छन् । नेविसंघको राजनीतिमा रहँदा उनी पृथ्वीनारायण क्याम्पसमा नेपाल विद्यार्थी संघकोतर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा २ पटकसम्म उम्मेद्वार बनेका थिए ।
एक पटक सदस्य र अर्काे पटक सभापति पदमा निर्वाचन लडेका उनले निर्वाचनका क्रममा सार्वजनिक मुद्वा समेत खेपेका थिए । लोकतान्त्रिक आन्दोलनका क्रममा पक्राउ परेका थिए ।
उनी नेपाल विद्यार्थी संघ कास्कीको सभापति, नेपाली कांग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय सदस्य हुँदै कांग्रेसको १३ औं महाधिवेशनमा तत्कालीन कास्की क्षेत्र नम्बर २ बाट जिल्ला सदस्यमा निर्वाचित बनेका थिए ।
प्रवक्ता मनोनीत भएसँगै उनले पार्टीलाई मजबुद र शशक्त बनाउनु आफ्नो कर्तव्य भएको बताए । जनादेशले नेकपालाई सरकार चलाउन र कांग्रेसलाई संगठन बनाउन भनेकाले संगठन निर्माणमा ध्यान दिन जरुरी रहेको उनको भनाइ छ ।
उनी नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष समेत हुन् । २ दशकसम्म पत्रकारिता समेत क्रियाशील सिग्देल पत्रकारिता र राजनीति दुबै क्षेत्रलाई सन्तुलित बनाउन सफल छन् ।
कास्की कांग्रेसले रिक्त जिल्ला सदस्य पदमा पोखरा ३१ का देवेन्द्र रानाभाट र पोखरा १७ का प्रेम परियारलाई मनोनीत गरेको छ ।
तत्कालीन नेपाल लोकतान्त्रिक फोरम र अखण्ड नेपाल पार्टी नेपाली कांग्रेसमा गाभिएपछि कास्की कांग्रेसले समायोजन गरी २ पार्टीकोतर्फबाट ६ जना जिल्ला सदस्य पनि थप गरेको छ ।
जसमा अखण्ड पार्टीकोतर्फबाट पोखरा ३२ का गणेश केसी, पोखरा २१ का शोभाकर लामिछाने, अर्मलाकी मञ्जुश्री बस्नेत र फोरमकोतर्फबाट पोखरा १० का प्रज्वल रञ्जित, रुपा ७ की दक्षिणा सुवेदी र पोखरा २९ की लक्ष्मी बास्तोला जिल्ला सदस्य बनेका छन् ।
आमन्त्रित जिल्ला सदस्यमा पोखरा १३ का शिरोमणि बराल, पोखरा ३२ का नारायण पौडेल, माछापुच्छ्रे गाउँपालिकाका मेखबहादुर गुरुङ, धितालका दीपक पौडेल, पोखरा ३१ का शिव अधिकारीलाई मनोनीत गरिएको छ ।
बैठकले चैत १ गतेदेखि पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण अभियान संचालन गर्ने पनि निर्णय गरेको छ ।
प्रजातन्त्र सेनानी शोभियतबहादुर कुँवर, नेपाली कांग्रेस आर्वाका पूर्व ईकाइ सभापति घनश्याम बराल, जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डेका पिता खड्कबहादुर जङ्गली क्षेत्री, जिल्ला सदस्य नारायणप्रसाद श्रेष्ठका पिता जुननारायण श्रेष्ठ, वडा नं ३ का ईकाइ सचिव कृष्ण अधिकारीका पिता रामप्रसाद अधिकारी, क्रियाशील सदस्यहरु पोखरा २९ का उदिप गुरुङ, पोखरा ३ का लेखनाथ पाण्डे र पोखरा २६ का दुर्गाबहादुर भण्डारीको निधन भएकोमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
बैठक कास्की कांग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया