अधिनायकवाद अन्त्य गर्न कांग्रेसभित्र एकता आवश्यकः डा.संग्रौला
विराटनगर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले निर्वाचित जनप्रतिनिधि र पार्टीबीच समन्वयको खाँचो रहेको बताएकी छिन् ।
सोमबार विराटनगरमा आयोजित कार्यक्रममा डा.संग्रौलाले कांग्रेस र जनप्रतिनिधिहरूवीच समन्वय भयो भने पार्टी बलियो हुने बताइन् ।
उनले कम्युनिस्टहरूको अधिनायकवाद हाबी हुने क्रममा रहेका बेला कांग्रेसले आफ्ना जनप्रतिनिधिहरूलाई सक्रिय बनाउनुपर्ने बताइन् ।
उनले भनिन्, ‘जनप्रतिनिधि र पार्टीबीच समन्वय नहुँदा राम्रो काम पनि प्रचार–प्रसार हुन सकेको छैन ।’
कांग्रेसले जितेको स्थानीय तहमा जनताले प्रत्यक्ष महसुस गर्ने गरी विकास र समृद्धि दिलाउने काम जनप्रतिनिधिले गर्नुपर्ने उनले बताइन् ।
डा.संग्रौलाले नेकपाको सरकारले सुशासन, विकास र समृद्धिको अनुभूति दिलाउन नसकेको उल्लेख गर्दै कांग्रेसले जनताको मन जित्नुपर्ने उल्लेख गरिन् ।
‘कम्युनिस्ट सरकारले सुशासन दिन सकेन । भ्रष्टाचार जताततै मौलायो’, उनले भनिन्, ‘जनताले समृद्धि र विकास अनुभूति गर्न सकेका छैनन् ।’
‘हामीले जितेका ठाउँहरूमा जनतालाई शुसासन र समृद्धिको अनुभूति जनताले गर्न पाउने गरी जनप्रतिनिधिले काम गर्नुपर्छ’, नेपाली कांग्रेसकी नेतृ डा.संग्रौलाले भनेकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया