कांग्रेसका वडाध्यक्षले प्रचण्डविरुद्ध चितवनमा शुरु गरे आन्दोलन
चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आश्वासन दिएर धोका दिएपछि चितवन जिल्लाको माडी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष अनशन बसेका छन् ।
यसअघि माडी नगरपालिकाका मेयर ठाकुर ढकाल आफै अनशन बस्ने भनेका थिए । प्रचण्डले दवाव दिएर अनशन नबस्न निर्देशन दिएपछि वडाध्यक्ष कृष्ण पौडेल अनशन बसेका छन् । मेयर ढकाल नेकपा निकटका हुन् । अनशन बसेका वडाध्यक्ष पौडेल नेपाली कांग्रेस निकटका हुन् ।
माडीका जनताको माग पूरा नभएको भन्दै अनशन बस्ने प्रचारबाजी गरेका मेयर ढकाल अन्तिम समयमा आएर ब्याक भएका हुन् ।
वडाध्यक्ष पौडेल बुधबार साँझबाट आमरण अनशन बसेका छन् । उनीसंगै वडा सदस्य र स्थानीय जनताले पनि अनशनमा शुरु गरेका छन् ।
माडीवासीहरूको अति आवश्यक मागहरूप्रति राज्यले ध्यान पु¥याउन नसकेको भन्दै वडाध्यक्ष पौडेलसहित वडा सदस्यहरू बिभिन्न सात बुंदे माग राखेर आमरण अनशन शुरु गरेका हुन् ।
उनीहरू वडा कार्यालय अगाडि अनशनमा बसेका छन् । अनशनकारीले राष्ट्रिय निकुञ्ज सम्बन्धी २०२९ को बिनियम संशोधन गर्न बनेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौ शंसोधन) नियमावली २०७६ ले माडी जस्तो बहुउपेक्षित क्षेत्रलाई संबोधन गर्न नसकेको बताएका छन् ।
मानवअधिकार सहितको संरक्षणका लागि पुनः संशोधन हुनुपर्ने, बाँदरझुला साथै अमिलियाको उचित व्यवस्था गरिनुपर्ने, मानव वन्यजन्तु द्वन्द्व निवारणका लागि ठोस रुपमा वन र बस्तीवीच वैज्ञानिक संरचना बनाउनुपर्ने साथै उत्तरी सिमानामा पर्ने रीउ खोला कोरिडोरको निर्माण व्यवस्थित गरिनुपर्ने माग उनीहरूले राखेका छन् ।
लागत तथा उत्पादनको आधारमा बालीको क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने, कसरादेखि वनकट्टा साथै बगहीदेखि बाँदरझुलासम्म बाटो पूर्णरुपमा स्तरोन्नती गरी चौबीसै घण्टा आवतजावतको व्यवस्था गरिनुपर्ने, माडी नगरपालिकालाई कृषि, पर्यटनको हबको रुपमा विकास गर्न विशेष योजना ल्याइनुपर्ने माग उनीहरूको छ ।
प्राकृतिक श्रोत साधनमा पूर्ण रुपमा स्थानीय निकायको अधिकार हुनुपर्ने मागहरू राखेका वडाध्यक्ष पौडेल, वडा सदस्यहरू शिवबहादुर कार्की र अमित लामासहित स्थानीहरूले आमरण अनशन बसेको वडाध्यक्ष पौडेलले जानकारी दिएका छन् ।
माडी क्षेत्र नेकपाका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र पनि हो । माडीमा निर्वाचनका बेला विकास गर्ने आश्वासन दिँदै आएका प्रचण्ड भाग्न थालेको भन्दै वडाध्यक्षसहितका स्थानीयले आन्दोलन थालेका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया