विद्यादेवी भण्डारीलाई शक्तिशाली बनाउन लागेको रामचन्द्र पौडेलका खुलासा
धरान । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टहरूले शीतल निवासलाई शक्तिशाली बनाउने दाउमा रहेको बताएका छन् ।
धरानमा बुधबार नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा पौडेलले राष्ट्रपति शासन लागू गर्न कम्युनिस्टहरूले प्रयास गरिरहेको बताए ।
‘उनीहरू अहिले शीतलनिवासलाई शक्तिशाली बनाउने दाउमा छन् । राष्ट्रपतिलाई शक्तिशाली बनाएर राष्ट्रपति शासन लागू गर्ने तयारीमा छन्’, उनले भने, ‘यो कुरा संविधानसभाले बनाएको संविधानको मर्म विपरित हो ।’
‘संविधानलाई पन्छाउँदै विभिन्न कानून बनाएर उनीहरू राष्ट्रपतिको अधिकार बढाउने तयारीमा छन्’, उनले भने, ‘कम्युनिस्टहरू ताली मात्रै बजाउने जनमत तयार गर्दैछन् ।’
‘जनता भनेको कम्युनिस्ट पार्टीको सर्मथन गर्ने मात्रै हुन भन्ने कम्युनिस्ट आर्दश अनुसार अहिलेको सरकारले काम गरिरहेको छ’, नेता पौडेलले भने, ‘सरकारको सर्मथन नगर्नेलाई सरकारले छानिछानि बदनाम गराउन लागेको छ । क्याबिनेटमा प्रस्ताव लैजाने प्रधानमन्त्री र मुख्यसचिवलाई सरकारको निर्देशनमा अख्तियारले चोख्याएको छ । अनि एउटा मन्त्री र सचिवलाई फसाइएको छ ।’
‘यो भनेको रातो झण्डा ओढेपछि सबै खत माफ हुन्छन् भन्ने हो । वाइडवडीको छानविन हुन्न । माओवादी शिविरमा भएको भ्रष्टाचारको छानविन हुन्न’, उनले भने, ‘भ्रष्टाचारका ठूलाठूला काण्ड किन लुकाउन खोजिदै छ ?’
‘संवैधानिक निकायलाई सरकारको आज्ञापालक बनाइएको छ । उनीहरूलाई आफ्नो अनुकुल हिडाउने कोशिश भइरहेको छ’, नेता पौडेलले बताए ।
‘अहिले कम्युनिष्ट पार्टीको दुईतिहाई नजिकको सरकार छ । मैले नेकपाको केन्द्रीय कमिटीको बैठकले पास गरेको दस्तावेज हेरेको थिए’, पौडेलले भने, ‘उनीहरू राज्य व्यवस्थालाई आफ्नो सिद्धान्त अनुरुप बनाउने तयारीमा छन् । उनीहरू राज्य व्यवस्थालाई आफ्नै ढाँचा लैजानुपर्ने मत कम्युनिस्ट पार्टीको बैठकमा नेताहरूले उठाएका थिए ।’
‘कम्युनिस्ट नेताहरुले भाषणमा मात्र होइन, अब कम्युनिस्ट पद्दतिलाई अगाडि बढाउन बहस शुरु गरेका छन्’, उनले भने, ‘राज्य व्यवस्थालाई अब सर्वसत्तावादतर्फ उन्मुख गराउँदै छन् । उनीहरू २०४६ सालमा कम्युनिस्ट नारा चल्दैन भनेर जनताको बहुदलीय जनवाद भनेर जनतालाई झुक्याएका थिए ।’
‘बहुलवाद मान्ने भनेर जनतासंग भोट मागेर आज दुईतिहाइ नजिक पुगेपछि कम्युनिस्ट आर्दश अनुसारको शासन व्यवस्थाको बहस शुरु गरेका छन्’, पौडेलले भनेका छन्, ‘उनीहरूले आफ्नो इच्छा संविधान बनाउने बेलामा पनि प्रकट गरेका थिए । हामीले त्यो बेलामा उनीहरूको इच्छालाई रोक्यौँ ।’
‘लोकतान्त्रिक पद्दतिको शासन व्यवस्था हुने गरी संविधान बनायौँ । अहिले उनीहरू संविधान बनाउने क्रममा देखाएका कम्युनिस्ट आदर्शलाई कानून बनाएर प्रयोग गर्न लागिरहेका छन्’, उनले भने, ‘कानून बनाएर शासन गर्न लागेका छन् । संविधानलाई रद्धीको टोकरीमा फालेर नयाँ कानून बनाउन कम्युनिस्टहरू लागेका छन् ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया