जनता दास होइनन्, नेताहरूको कमजोरी भन्नुपर्छः कांग्रेस नेता थकाली

पोखरा । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले स–साना बालबालिकाहरूलाई शिक्षादीक्षा दिने शिक्षकहरूका कारण मुस्ताङ जिल्ला ‘मुस्ताङ’ बनेको बताएका छन् ।

पोखराको दुलेगौडामा नारायणी बोर्डिङ स्कूल चितवनका १६० जना विद्यार्थीलाई न्यानो कपडा (ज्याकेट) वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री थकालीले मुस्ताङको विकासमा अहिलेका स–साना बालबालिकाहरूको योगदान भविष्यमा झन् महत्व राख्ने बताए । उनले राजनीतिप्रति चित्त नदुखाउन आग्रह पनि गरेका छन् ।

‘हामीले के गर्न सक्यौँ वा सकेनौँ आफ्नो ठाउँमा होला’, उनले भने, ‘नेपालमा राजनीतिक विकृतिका कारणले गर्दा समस्या पनि भयो होला । म कुनै पार्टी भनेर आरोप लगाउन चाहन्न । कसैलाई चित्त दुखाउन पनि चाहन्न ।’

नेपाली कांग्रेसका नेता थकालीले सबैमा कमीकमजोरी हुनेभन्दै त्यसलाई सुधार गरेर जान आवश्यक रहेको बताए ।

‘ममा पनि कतिपय कमीकमजोरी होलान्’, उनले भने, ‘मेरो कमीकमजोरीलाई तपाईहरूले भन्न सक्नुपर्छ । त्यसपछि म सुध्रिन मौका पाउँछ ।’ थकालीले नेताहरूको कमीकमजोरी भन्न नसक्नुमा जनताको पनि दोष हुने उल्लेख गरे ।

‘जनता सधैँ दास जस्तो भएर गाउँको ठालुले जहा भोट हाल भन्यो त्यही भोट हाल्ने बन्नु हुँदैन’, उनले भने, ‘जनताले सत्य कुरा नेताहरूलाई भनिदिनुपर्छ । सुध्रिने मौका दिनुपर्छ । कसैको दास बन्नु हुँदैन ।’

विद्यार्थीका लागि शिक्षकहरू नै भगवान रहेको नेपाली कांग्रेसका नेता थकालीले बताए । ‘शिक्षकले सिकाएको कुराहरू आत्मसात गर्नुपर्छ । म यो देशको ठूलो मान्छे होइन, सानो मान्छे हुँ’, उनले भने, ‘तपाईहरू स–साना बालबालिकाहरूको सबैभन्दा ठूलो व्यक्ति भनेको शिक्षकहरू हो । शिक्षकभन्दा ठूलो यो दुनियाँमा कोही पनि छैन । उहाँहरूलाई पूजा गर्नुपर्छ ।’

मुस्ताङको भविष्य बनाउने पनि स–साना बालबालिकाहरू रहेको उनको भनाइ छ ।

https://www.facebook.com/republicadainik2/videos/2890750954311187/

‘मुस्ताङ मात्रै होइन समग्र देशको भविष्य तपाईहरू हातमा छ’, उनले भने, ‘अहिले साना हुनुहुन्छ । भोलीको कर्णधार तपाईहरू हो ।’

‘शिक्षकहरूले मुस्ताङको विकासका लागि सक्षम नागरिक बनाइदिनुस् । शिक्षकले नै आँखा देखाउने हो’, पूर्वमन्त्री थकालीले भने, ‘हिमाली जिल्लामा मुस्ताङ धेरै अगाडि छ । म माथिल्लो डोल्पा गएको थिएँ । अधिकांश गाउँपालिकामा नेकपाका साथीहरूले जित्नुभएको रहेछ ।’

‘मुस्ताङको विकास देखेर त्यहाँका साथीहरूले मलाई चुनाव लड्न आउनुस् भन्नुभयो । त्यो मलाई दिएको निम्तो होइन’, उनले भने, ‘तपाईहरू जस्तो शिक्षकहरूले कठ्याङग्रिएर पढाउनुभयो । त्यसको परिणाम हो ।’

उनले भने, ‘मलाई बोलाएको होइन । अप्पर मुस्ताङका दाजुभाइ दिदीबहिनीहरूलाई बोलाएको हो । निर्वाचन हुन्छ । परिणाम आउँछ । कसले जित्यो वा हार्‍यो भन्ने हुँदैन । कसले जनता र देशका लागि समयमा काम गर्‍यो भन्ने कुराले महत्व राख्छ ।’

कार्यक्रममा १६० जना स–साना बालबालिकाहरूलाई न्यानो कपडा (ज्याकेट) वितरण गरिएको थियो । माथिल्लो मुस्ताङको घिलिङ र घामीका पूर्वविद्यार्थीको आर्थिक सहयोगमा न्यानो कपडा वितरण गरिएको थियो ।

Published : Saturday, 2020 February 15, 10:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया