त्रिवि र अनेरास्ववियु निर्वाचन चाहँदैनन्ः नेविसंघका नेता झा
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता आशुतोष झा ‘नवीन’ले त्रिभुवन विश्वविद्यालय र सत्तारुढ अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनलाई लिएर देखाएको नौटंकीको विरोध गरेका छन् ।
नेविसंघका नेता झाले प्रेस नोट जारी गरेर भनेका छन्, ‘त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नहुने समस्याबाट गुज्रिँदै आएर ११ वर्षपछि फेरि यसपालि १४ फागुनमा त्रिविले निर्वाचनको तयारी गरेको छ ।’
‘सोही अनुसार माघ १४ गते एकमहिना अगावै चुनाव हुने मिति सार्वजनिक गरेको थियो’, उनले भनेका छन्, ‘नेपाल विद्यार्थी संघका स्ववियु पक्षधर विद्यार्थीको टोलीले स्ववियु निर्वाचनको प्रमुख निर्वाचन आयुक्तका रुपमा रहने रेक्टर तत्काल नियुक्त गर्न उपकुलपतिको ध्यानाकर्षण पनि गराएका छन् ।’
‘उपकुलपतिकै कार्यकक्षममै पुगेर उनीहरूले ज्ञापनपत्र हस्तान्तरण गर्दै रेक्टर नियुक्ति र स्ववियुको कार्यतालिका तत्काल घोषणा गर्न माग गर्यो’, नेविसंघका नेता झाले भनेका छन् ।
तर, निमित्त रेक्टरकै भरमा स्ववियु निर्वाचन घोषणा गर्नु विद्यार्थीलाई झुक्याउने र स्ववियु निर्वाचन नगराउने खेल त्रिविले नै गरेको झाले आरोप लगाएका छन् ।
‘फागुन १४ गते चुनाव गर्ने घोषणा भएपनि विश्वविद्यालय कहिले पनि गम्भीर देखिएनन्’, उनले भने, ‘स्ववियु निर्वाचनको प्रमुख आयुक्त रहने शिक्षाध्यक्ष तथा रेक्टर पद रिक्त राखेर निमित्त रेक्टरको भरमा चुनावको तयारी गरिएको किन गरिए ? प्रश्न यहाँ पनि छ ।’
‘नेविसंघ र स्ववियुको नङ र मासुको सम्बन्ध जस्तै छ’, उनले भनेका छन्, ‘चुनावमा हारजीत हुन्छ नै ।’
‘चुनावमा कुनै संगठन हार्छ या जित्छ तर चुनाव नै नभए हार र जीत हुनै ठाउँ पनि रहँदैन नी’, झाले भनेका छन्, ‘त्यसैले नेविसंघमाथि अनेरास्ववियुले लगाएको आरोप पूरै गलत छ ।’
‘जुन संगठनकै नेतृत्वमा स्ववियुको स्थापना भयो आज त्यही संगठन कसरी चुनावबाट बाहिरिन सक्छ ?’, उनले प्रश्न गर्दै भनेका छन्, ‘चुनाव नगाराउने खेलमा अहिलेकै सत्तामा बसेका सरकार एवम् त्रिवि स्वयं हो ।’
‘लोकतान्त्रिक प्रक्रियाको चुनावमा हारजित एउटा छुटै विषय हो’, उनले भनेका छन्, ‘गाउँ, समाज र देश निर्माण गर्ने निश्चित एउटा सकारात्मक सोँच बोक्ने परिवर्तनकारी लक्ष्य निर्माण गर्ने विद्यार्थी राजनीतिबाट शिक्षित समाजको परिकल्पना गर्ने ठाउँ विद्यार्थी राजनीतिको नर्सरी भनी चिनिने स्ववियु निर्वाचन नहुनु लोकतन्त्र र हालको राजनीतिमाथि प्रश्न उठेको छ? देशमा रहेको हरेक निकायको चुनाव हुनु तर विश्वविद्यालय र क्याम्पसमा विद्यार्थी हकहित एवं आमूल शैक्षिक परिवर्तनको निम्ति आवाज उठाउने एउटै थलो स्ववियु चुनाव मात्र रोकिनु गम्भीर प्रश्न र सोचनिय विषय हो ।’
स्ववियुको सुनिश्चितताका लागि विश्वविद्यालयले तत्काल सक्षम व्यक्तिलाई रेक्टर नियुक्त गरी स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न उनले माग गरेका छन् ।
‘हामी नेविसंघ चुनावमा भाग लिन आतुर भएका छौं’, उनले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया