जुम्लाका तरुणहरूले भने, ‘राजनीतिमा कहिल्यै प्रतिशोध लिनु हुँदैन’

जुम्ला । नेपाल तरुण दल जुम्लाले पनि ललिता निवासको जग्गा प्रकरणका दोषीहरूलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ ।

नेपाल तरुण दल जुम्ला कार्यसमितिले आइतबार जुम्लामा बालुवाटार जग्गा प्रकरणका दोषीलाई कारबाहीको माग राखेर प्रदर्शन गरेको हो ।

अख्तियारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अदालतमा दायर गरेको मुद्धाको प्रकृति हेर्दा अनौठो संशय र प्रश्न उब्जाएको तरुण दल जुम्लाले जनाएको छ ।

‘लालझण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाइ कतै पूरा हुने त होइन ?’, तरुण दल जुम्लाका नेताहरूले भनेका छन्, ‘कम्युनिस्ट सरकार प्रतिशोधको राजनीतिमा र राज्यका जिम्मेवार संवैधानिक निकायहरू त्यही सरकारको अभिष्ट पूरा गर्ने उपकरणका रूपमा ईशारामा चल्न थालेपछि देशको कुन दुर्दशा होला ।’

‘नेल्शन मण्डेलाले आफूले जेलमा पानी माग्दा पिसाव खुवाउने जेलरसँग प्रतिशोध साध्न सक्थे । तर एउटा होटेलमा अकस्मात भेटिएका र मण्डेलालाई देखेर असाध्यै डराएका जेलरलाई छेउमा बोलाएर खाना खुवाएर पठाउने मण्डेलाको उच्च राजनीतिक संस्कार र उदारवादी भावना एवं व्यवहार जस्ता दृष्टान्तहरूले नैं संसारमा लोकतन्त्रलाई निर्विकल्प र सुन्दर तुल्याएको हो’, जुम्लाका तरुण नेताहरूले बताएका छन् ।

‘संवैधानिक निकायहरूले सधैंभरि तटस्थता अवलम्बन गर्नु पर्दछ’, तरुण नेताहरूले भनेका छन्, ‘जिम्मेदारी प्राप्त गरेपछि उनीहरूले राष्ट्रका लागि काम गर्ने हो । संस्थाको मर्यादाको ख्याल गर्ने हो ।’

‘योग्य व्यक्ति अरूलाई रिझाउन लाग्दैन, सिफारिशकर्ताप्रति अनुगृहित भएर आफ्नो जिम्मेवारी पनि भुल्दैन’, नेताहरूले भनेका छन्, ‘आफ्नोे कामले अब्बल सावित हुन्छ र दुनियाँमा पुजनीय बन्छ । कुलमान घिसिङ सरकार र नेता रिझाउन लागेका भए देश यति उज्यालो हुने थिएन ।’

‘अरूलाई रिझाएर आफ्नो दुनो सोझ्याउने र कर्तब्य बिर्सने व्यक्तिहरू दासका राम्रा उदाहरण हुन्’, उनीहरूले भनेका छन्, ‘अख्तियारको शब्दकोशमा राजनीतिक पूर्वाग्रह हुनु हुँदैन ।’

‘व्यक्तिको सफलता जीवनमा शिर ठाडो पारेर स्वाभिमानपूर्वक बाँच्न सक्नु हो’, तरुण नेताहरूले भनेका छन्, ‘अख्तियारका आयुक्तहरूको भ्रष्टाचार बिरूद्दको भेदभावपूर्ण कदमले उहाँहरूको शिर ठड्याएको छ त ?’

Published : Sunday, 2020 February 9, 11:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया