ओलीको क्षेत्रमा कांग्रेसको शानदार कार्यक्रम, पौडेलद्वारा भण्डाफोर
झापा । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकार निरंकुशता बन्न अगाडि बढेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा– ५ मा शनिबार नेपाली कांग्रेस कमल गाउँ कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले संवैधानिक अंगमाथि हस्तक्षेप गर्दै लोकतन्त्र समाप्त पार्ने बाटोमा कम्युनिस्ट सरकार लागेको बताए ।
नेता पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।
लोकतन्त्रको मर्म र भावना विपरीत अख्तियार दुरुपयोग अनुसन्धान आयोग र स्वतन्त्र न्यायपालिकामाथि समेत कब्जा जमाएर सरकारले आफ्नालाई जोगाउने र प्रतिस्पर्धीलाई ठेगान लगाउने नीतिमा अघि बढेको उनले बताए ।
‘यो सरकारले स्वतन्त्र न्यायपालिका माथि पनि क्रमशः हस्तक्षेप बढाउँदै छ’, पौडेलले भने, ‘विस्तार अदालतका न्यायाधीशहरू पनि बालुवाटार गएर प्रभु आज यस्तो मुद्दाका फैसला हुँदैछ कसरी गरौं भन्ने सोध्ने दिन आउँछ ।’
नेता पौडेलले कांग्रेसले विरोधका लागि मात्रै सरकारको विरोध नगरेको दाबी गरेका छन् । पाँच वर्षको स्थिर सरकारले केही नौलो काम गर्न नसकेको उनको भनाइ छ ।
‘देशले दुई तिहाई बहुमत प्राप्त पार्टीको सरकार पाएको छ । तर, यो दुई वर्षमा के भयो ? पुरानै कामलाई मात्र नियमित गरेको देखिन्छ’, उनले भने, ‘महत्वपूर्ण योजनाहरू पहिलानै सुरु भएका थिए । अहिले त नाममात्रै परिवर्तन गरेका छन् ।’
पौडेलले तत्कालीन अवस्थामा मन्त्रिपरिषदबाट ललिता निवास जग्गा प्रकरणमा भएको निर्णयको जिम्मेवारी सरकारले लिनुपर्नेमा सो सम्बन्धिका प्रस्तावक तत्कालीन भौतिक पूर्वाधार मन्त्री एवम् कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई दोषी देखाउन खोज्नुले अख्तियारलाई सरकारले आफ्नो अनुकूल चलाउन खोजेको प्रष्ट भएको तर्क गरेका छन् ।
‘कांग्रेस उपसभापति, सभापति वा केन्द्रीय सदस्य जो कोही भए पनि यदि भ्रष्टाचारमा संलग्न रहेको भए कारवाही गर्ने कुरामा कांग्रेस एकमत छ’, उनले भने, ‘मन्त्रिपरिषदमा प्रस्ताव लाने मन्त्रीमाथि मुद्दा हालिन्छ । निर्णय गराउने प्रधानमन्त्रीलाई त्यसै छाड्ने ?’
उनले सरकारका गलत कामको विरोध प्रतिपक्षी कांग्रेसले गर्न नसकेको स्वीकार गरेका छन् । उनले प्रतिपक्षी कांग्रेसभित्र पनि सुधारको आवश्यकता रहेको बताए ।
उपनिर्वाचनमा सत्तारुढ पार्टीका उम्मेदवारहरू धेरै ठाउँमा विजयी हुनुका पछाडि जनतालाई कांग्रेसले कम्युनिस्ट सरकारका कमिकम्जोरीबारे जानकारी गराउन नसक्नु प्रमुख कारण भएको उनले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया