तरुणले आइतबार काठमाडौंसहित देशभरि प्रदर्शन गर्ने, ७७ जिल्लालाई परिपत्र

काठमाडौं । नेपाल तरुण दलले सबै जिल्ला कार्यसमितिहरूलाई माघ २६ गते आइताबार कम्युनिस्ट सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध आन्दोलन गर्न निर्देशन दिएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बिहीबार परिपत्र जारी गरेर माघ २६ गते ७७ वटै जिल्लामा सशक्त रुपमा प्रदर्शन गर्न निर्देशन दिएका हुन् । नेपाली कांग्रेसको निर्देशनअनुसार तरुण दलले आन्दोलन गर्न लागेको छ ।

कम्युनिस्ट सरकार र अख्तियारको प्रतिशोधपूर्ण निर्णयका विरुद्ध प्रदर्शनमा सहभागी हुन तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले अपील गरेका छन् ।

‘देशभरिका तरुणहरू फेरि एकपटक आन्दोलित हुनुपर्ने बेला आयो’, उनले भनेका छन्, ‘अध्यक्षज्यूको परिपत्रअनुसार सबै जिल्लाले आइतबार भब्य रुपमा प्रदर्शन गर्नुपर्छ ।’

‘नेपाली कांग्रेसका उपसभापति एवम् संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको ललिता निवास प्रकरण सम्बन्धि मुद्धा पूर्वाग्रहपूर्ण र राजनैतिक बद्नियतले प्रेरित भाई गरेकोले वर्तमान नालायक अधिनायकवादी ओली सरकारको निर्देशन र योजनामा दर्ता गरिएको उक्त मुद्धाको विरुद्ध ७७ वटै जिल्लामा नेपाली कांग्रेस पार्टी र विभिन्न भ्रातृ तथा शुभेच्छुकको सशक्त कार्यक्रम गर्न यो परिपत्र गरिएको छ’, अध्यक्ष बस्नेतद्वारा बिहीबार जारी गरिएको परिपत्रमा उल्लेख छ ।

‘केन्द्रीय समितिले राजधानीको माइतीघर मण्डलामा माघ २६ गते दिनको ११ बजे बृहत विरोध कार्यक्रम गनेृ भएकोले बागमती अञ्चलभित्रका दलका सबै जिल्ला समितिहरूलाई माइतीघर मण्डलाको बृहत कार्यक्रममा सहभागी हुन यसै परिपत्रमार्फत सूचित गरिन्छ’, अध्यक्ष बस्नेतद्वारा जारी परिपत्रमा उल्लेख छ ।

Published : Thursday, 2020 February 6, 8:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया