देउवाविरुद्ध ओलीसम्म सूचना पुर्‍याने राईलाई देवत्वकरण किन ?

काठमाडौं । गृहमन्त्रालयबाट बुधबार ५ बर्षे पदावधिका आधारमा अवकाश भएका सचिव प्रेमकुमार राईले २ दिनअघि राजीनामा गरेपछि उनको आलोचना भइरहेको छ ।

मासिक २ हजार ५ सय रुपियाँ बढी निवृत्तिभरण(पेन्सन) पाउने लोभमा उनले २ दिनअघि राजीनामा दिएका हुन् । राजीनामापछि कुशल प्रशासक र निष्कलंक छविका भनेर उनलाई देवत्वकरण गरिएको छ । तर, उनको बारेमा जतिसुकै बखान गरिए पनि उनी दुधले धोएका सचिव भने होइनन् ।

राईले घट्टेकुलोमा आलिशान महल के कसरी बनाए ? आयल निगमको अध्यक्ष हुँदा जग्गा खरिदको निर्णय उनले गरेका थिए । जुन जग्गा खरिदमा १ अर्ब ५० करोड रुपैयाँ घोटाला भएको प्रतिवेदन छानबिन समितिले नै दिएको थियो ।

राईले गृहसचिव भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजीपीलाई दबाब दिएर सरुवा बढुवादेखि एफपीयु (यूएन) मिसनमा पठाएका छन् । राईले अख्तियारबाट बदनाम भनेर लखेटिएकी शाखा अधिकृत राधा श्रेष्ठलाई पीए बनाएको बिषय पनि विवादमा परेको छ ।

अघिल्लो सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा केपी ओलीलाई सूचना दिएकाले राई ओली निकट भएका थिए ।

त्यही गुन तिर्नका लागि ओलीले प्रधानमन्त्री भएपछि गृहमन्त्रालयको सचिव बनाएर राईलाई पुरस्कृत गरे । गृहमन्त्रालयमा प्रधानमन्त्री ओलीको निर्देशन अनुसार काम गरेर मन जिते ।

ओलीले उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बनाउने चर्चा निकै समयअघिदेखि हुँदैआएको छ । राईलाई अहिले आयुक्त बनाउने र नवीन घिमिरे आगामी भदौ २८ मा अवकाश भएपछि राईलाई नै प्रमुख आयुक्त बनाउने भन्ने हल्ला पनि चलाइएको छ ।

राईले जहाँ गए पनि जातिवादलाई प्राथमिकता दिने गरेका छन् । गृह सचिव भएपछि उनले प्रहरीमा विवादित र बदनाम भए पनि जातिविशेषलाई आकर्षक जिल्लाको इन्चार्ज र बढुवामा पनि दबाब दिएको बिषय जगजाहेर छ ।

घिमिरेको अवकाशपछि राईलाई प्रमुख आयुक्त बनाउने भनिए पनि अख्तियारमा बरिष्ठताका आधारमा आयुक्त डा.गणेशराज जोशीले प्रमुख आयुक्तको आशा गरेका छन् । उनको अपेक्षा स्वभाविक पनि हो ।

दीप बस्नेतलाई पनि बरिष्ठताका आधारमा प्रमुख आयुक्त नियुक्त गरिएको थियो । प्रमुख आयुक्त घिमिरे ६५ बर्षे उमेरहदका कारण भदौ २८ मा अख्तियारबाट निबृत्त हुनेछन् । डा. जोशी ६ वर्षे पदावधिका कारण २०७७ चैतमा निवृत्त हुनेछन् । (यूनाइटेड पाेस्ट साप्ताहिकबाट साभार)

Published : Thursday, 2020 February 6, 7:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया