आउनुस् हातेमालो गरेर कांग्रेस बनाऔँः डा.शशांक कोइराला
दुम्जा । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले अब हुने निर्बाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने आफ्नो पहिलो लक्ष्य रहेको बताएका छन् ।
सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका वडा नम्बर १ धरणीडाँडा, दुम्जामा वीपी कोइराला प्रतिष्ठान रामेछापले शुक्रबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै महामन्त्री डा.कोइरालाले कांग्रेसलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने बताए । त्यसका लागि अहिलेदेखि नै पार्टीमा सबै मिलेर जानुपर्ने बताए ।
सैद्धान्तिक निष्ठा, राष्ट्रप्रतिको समर्पण, ईमान्दारिता र पार्टीभित्रको एकताको पुनर्निर्माण गर्दै आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने आफ्नो अभियान रहेको उनले बताए ।
कम्युनिस्ट सरकार र नेकपाले सत्तमा पुगेपछि जनताका एजेण्डा बिर्सेर भ्रष्टाचार र पार्टीगत स्वार्थलाई अंगालेको बताएका डा.कोइरालाले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन कसैले रोक्न नसक्ने बताए ।
कांग्रेसलाई विकास, सुशासन र सहज जनजीविकाको रक्षाका लागि लड्ने पार्टी बनाउन जरुरी रहेको पनि डा.कोइरालाले बताए ।
महामन्त्री डा.कोइरालाले पछिल्लो समय पार्टीभित्र बढेको बिकृतिलाई रोकेर कांग्रेसलाई एकढिक्का बनाउँदै लागिने बताए ।
डा.कोइरालाले पार्टी एकढिक्का भयो भने एमाले–मओवादी मिलेर बनेका नेकपा हुन् वा जो मिले पनि कांग्रेसलाई कसैले हराउन नसक्ने बताए ।
महामन्त्री डा.कोइरालाले कृषिको आधुनिकीकरण गर्न जरुरी रहेको बताए । ‘देश विकासको पहिलो आधार कृषि हो’, महामन्त्री डा.कोइरालाले भने, ‘कृषिलाई आधुनिकीकरण गरी मलिलो माटोलाई उत्पादनमुखी बनाउनुपर्छ ।’
काम गर्ने जनता विदेश गएकाले धेरै खेती योग्य जमिन बाँझै बसेकोप्रति डा.कोइरालाले चिन्ता प्रकट गरेका छन् ।
कोइराला परिवारको पुख्र्यौली थलो दुम्जामा आयोजित कार्यक्रममा महामन्त्री डा.कोइरालाले आफू पहिलो पटक दुम्जा आएको चर्चा गर्दै भने, ‘कृष्णप्रसाद कोइरालाको भत्किन थालेको घर हेरे, धेरै पुरानो सम्झना आयो । अब त्यो घर हामी बनाउँछौं ।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले प्रधानमन्त्री र मन्त्रीहरू सबै भ्रष्टाचारमा लिप्त रहँदा समेत कांग्रेस नेतृत्व मुकदर्शक भएर बसेको आरोप लगाए ।
उनले कम्युनिष्ट सरकारको पालामा देशमा महँगी जनता आजित बनेको भन्दै कांग्रेसले यस विषयमा जोडदार रुपमा बोल्नुपर्ने बताए । उनले भने, ‘दण्डहीनताले सीमा नाघेको छ, शान्ति सुरक्षा छैन, रोजगारीका अबसर छैनन् ।’
बीपी कोइराला प्रतिष्ठान रामेछापका अध्यक्ष रामकृष्ण खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरे, प्रदीप पौडेल, प्रदेश सभा सदस्य राधा घले, पूर्व संविधानसभा सदस्य तीर्थ लामा, नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्वल बराल, रामेछाप कांग्रेसका सभापति लवश्री न्यौपाने लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
‘दुम्जा जाऊँ पिताजी कृष्णप्रसाद र वीपी कोइराला चिनौ, दुम्जालाई राजनीतिक तीर्थको रूपमा विकास गरौं’ भन्ने नाराका साथ गरिएको कार्यक्रममा उल्लेख्य कांग्रेस कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा महामन्त्री डा.कोइरालाले दुम्जा माविलाई आफ्नो तर्फबाट एक थान कम्प्युटर समेत प्रदान गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया