नेकपामा प्रचण्ड हिराे बनेपछि ओलीले बदले रणनीति
काठमाडौं । पार्टीभित्र अल्पमतमा पर्ने सम्भावना देखेपछि प्रधानमन्त्री केपी ओलीले रणनीतिमा परिवर्तन ल्याएका छन् । केन्द्रीय सचिवालयमा अल्पमतमा परेका ओलीले आफ्नो रणनीतिमा थोरै परिवर्तन ल्याएका हुन् ।
उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साइजमा ल्याउन प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई विश्वासमा ल्याउने प्रयास गरेका छन् ।
गएको तीन हप्तामा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग पटक–पटक सम्वाद गरेका छन् । सम्वादमा भएका आन्तरिक विषयका बारेमा बाहिर केही भनिएको छैन । तर, ओलीले कांग्रेसलाई देखाएर पार्टीभित्र आफ्नो दबदबा कायम राख्न खोजेका छन् ।
भैँसेपाटीमा प्रचण्डले ओलीविरुद्ध गुटको भेला राखेपछि नेकपाभित्र नयाँ ट्वीस्ट आएको हो । भैँसेपाटी भेलाबाट तर्सिएका ओलीले लगत्तै वरिष्ठ नेता झलनाथ खनालसँग लामै वार्ता गरे । त्यो वार्तापछि खनालले ओलीलाई साथ दिने भएका छन् ।
खनालले स्पष्ट रुपमा आफूले ओलीलाई साथ दिएको संकेत गरिसकेका छन् । पूर्वमाओवादीहरूसँग निकट हुन नसक्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले आवश्यक पर्यो भने देउवाले माग गरेको सबै विषयबस्तुलाई पूरा गर्ने मनस्थिति बनाएका छन् ।
पार्टीबाट सरकारलाई असहयोग भयो भने ओलीले कांग्रेसलाई देखाएर प्रचण्ड र विरोधी नेताहरूलाई तह लगाउने योजना बनाएको स्रोतले जनाएको छ ।
ओलीले देउवासँग निकटता बनाएपछि कांग्रेसभित्र हँगामा भएको छ । त्यति मात्रै होइन देउवालाई ओलीले उपसभामुख दिनेसम्मको आश्वासन दिएको चर्चा कांग्रेसभित्र छ ।
अर्का वरिष्ठ नेता माधवकुमार नेपालले ओलीलाई साथ दिन नसक्ने संकेत गरेका छन् । नेपालले प्रचण्डलाई साथ दिन आफू निकटका नेताहरूलाई भनेका छन् । नेपालको रणनीति चालपाएका ओलीले नेपाल समूहलाई नाकाबन्दी लगाएका छन् ।
ओलीसँग पंगा लिएकै कारण युवराज ज्ञवाली जस्ता नेकपाका राम्रा नेताहरूलाई राष्ट्रियसभाको टिकट दिइएन । युवराज ज्ञवालीहरू पूर्वएमालेभित्रका राम्रा नेताहरूमा चिनिन्छन् । आदर्श र ईमान्दार नेताको पहिचान बनाएका युवराज ज्ञवाली जस्ता नेताहरूलाई ओलीले पाखा लगाइदिएका छन् ।
ओलीले आफूलाई वामदेव गौतमबाट पनि खतरा देखेका छन् । गौतमलाई ओलीले दुई वर्षका लागि कुनै ठाउँमा थन्काएर राख्ने योजना बनाएका छन् । गौतमलाई छिटै ओलीले उपयुक्त गाउँमा राख्ने बुझिएको छ ।
त्यति मात्रै होइन ओलीले मन्त्रीहरूलाई समेत सार्वजनिक कार्यक्रमहरूमा बोल्न बन्देज लगाइदिएका छन् । ओलीको निर्देशन उल्लंघन गर्ने हिम्मत कसैले गरेका छैनन् । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारको नियमित पत्रकार सम्मेलन गर्नेभन्दा केही गर्दैनन् ।
मन्त्रीहरूका अभिव्यक्ति एकपछि अर्को गरेर विवादमा तानिएपछि ओलीले बालुवाटार बोलाएर सार्वजनिक रुपमा नबोल्न निर्देशन नै दिएका हुन् ।ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले मन्त्रीहरूको अनुगमन गर्ने गरेका छन् ।
मन्त्री मात्रै होइन रिमालले पार्टीभित्रका नेताहरूको जासुसी पनि गर्ने गरेका छन् । रिमालमाथि सरकार र प्रधानमन्त्री ओलीको विरोध गर्नेहरूको सूची बनाएर ओलीलाई बुझाउने गरेको आरोप छ ।
ओलीले मन्त्रीहरूलाई लगाएको बन्देजपछि सरकारको आलोचना भएको छैन । आलोचनाबाट डराउने सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई च्याप्दै लगेको छ । (यूनाइटेड पाेस्ट साप्ताहिकबाट साभार)
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया